मलेसियाले आगामी मे ३१ देखि विदेशी कामदार नलिने

0
Shares

मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य हो । विगत केही वर्षदेखि मलेसिया जाने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ । तर, अब मलेसियाले आप्रवासी श्रमिकलाई रोक लगाउने भएको छ । मलेसियाले आगामी जेठ १८ अर्थात् मे ३१ देखि लागू हुनेगरी आप्रवासी श्रमिकलाई रोक लगाउने भएको हो ।

श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको नेपालस्थित मलेसियन दुतावासले जनाएको छ ।

मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भएको दुतावासले जनाएको छ । मलेसियाले उक्त निर्णय एक साता पहिले नै गरेको थियो ।

यद्यपी, मलेशियाले अर्को निर्णय नहुन्जेलका लागि विदेशी कामदारहरू नलिने निर्णय गरेकोबारे नेपाललाई हालसम्म औपचारिक जानकारी नगराएको पनि दुतावासले जनाएको छ । मलेसियाले अनुमति दिइसकेको आप्रवासी श्रमिकलाई मे ३१ अघि नै ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा तोकिदिएको छ ।

गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए । ‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरुलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको छ ।’, उनले भने ।

मलेसियन गृहमन्त्री इस्माइलका अनुसार मलेसियामा एक करोड ७० लाख श्रमशक्ति रहेको छ । जसअनुसार विदेशी श्रमशक्तिको अधिकतम संख्या २५ लाख ५० हजार हो । फेब्रुअरीसम्ममा मलेसियामा यस्ता विदेशी श्रमिकको संख्या २१ लाख ३० हजार नौ सय ३१ जना पुगिसकेको सरकारी तथ्यांक छ ।

महिनामा ५ हजार नेपाली जान्छन् मलेसिया

मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीको रोजाईमा पर्ने देशमध्ये एक हो । मलेसियामा मासिक ५ हजारको हाराहारीमा नेपाली श्रमिक जाने गरेका छन् ।
चालू आर्थिक वर्षको सात महिनामा मात्र ४२ हजार ६ सय ४८ जना नेपाली कामदार मलेसिया गएका छन् । माघमा मात्रै ५ हजार ४ सय ७७ जना नेपाली कामको खोजीमा मलेसिया गएका छन् । यस्तै, पुसमा ५ हजार ६ सय ८३, मंसिरमा ६ हजार ४ सय २३, कार्तिकमा ३ हजार ९ सय ६७, असोजमा ६ हजार ४ सय ४४ जना नेपाली कामदार मलेसिया गएका थिए भने भदौमा ६ हजार ८ सय ४० जना र साउनमा सात हजार आठ सय १४ जना वैदेशिक रोजगारीको लागि बाहिरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।