विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस, थरीथरीका विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

0
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन।

उनको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहेका छन। प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

थरीथरीका विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे।

“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्री दाहालले भने, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता केही महिनामै सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ ।”

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताए। प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ ।

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री दाहालले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।