“मैले अक्षरभन्दा पहिले चित्र बनाउन सिकेको हुँ”, लमजुङका झवीन्द्र गुरुङ विगत सम्झन्छन् । उनले पढाइसँगै चित्रकलालाई अगाडि बढाए । अहिले उनको जीवन धान्ने पेसा ललितकता बनेको छ ।
ललितकलाले उनको खर्च चलेको छ । “सानैबाट चित्रकलामा रुचि थियो, विसं २०५८ मा एसएलसी दिएपछि फाइनआर्ट पढ्न पोखरा झरे, पोखरामा ललितकला पढ्ने ठाउँ भेटिन”, झवीन्द्रले भने,“कक्षा ११ र १२ मा व्यवस्थापन सङ्काय पढेँ, त्यसपछि ललितकलाका गुरु आलोक गुरुङसँग भेट भयो, उहाँसँग नै चित्रकलाको ज्ञान लिएँ ।” चित्रकार आलोक गुरुङसँगको भेटपछि आफ्नो सीपमा झनै निखारपन आएको झवीन्द्रले सम्झए ।
झवीन्द्र अहिले ललितकलामै व्यस्त छन् । पानीरङ्ग हुँदै सुरु भएको उनको ललितकला अहिले ‘एक्रेलिक’ चित्रमा पुगेको छ । मागअनुसार उनले जस्तो खालको पनि चित्र कोर्छन् । “अहिले मेरो दैनिकी नै ‘आर्ट’ बनेको छ, यसैबाट मेरो जीवन धानिएको छ”, उनले भने,“मागअनुसार चित्र बनाउँछु अनि बेच्छु, अहिलेसम्म कति बेचियो भन्ने यकिन तथ्याङ्क नै छैन, मैले एउटा चित्र ? एक लाखसम्ममा बेचेको छु ।”
पोखरालाई कार्यक्षेत्र बनाएका झवीन्द्र पछिल्लो समय ललितकलामा युवाको आकर्षण बढेको बताउँछन् । “कुनै समय कला क्षेत्रमा लाग्नेहरुले निकै सङ्घर्ष गर्नुपथ्र्यो, अहिले स्कुलमा पनि यसको पढाइ हुन्छ”, उनले भने,“आजभोलि जुनसुकै ठाउँमा चित्र बनाउन पाउँछन्, अर्कोतर्फ विद्यालयमा शिक्षण पेसा गर्न पाउने अवसर पनि छ, यसकारण यो क्षेत्रमा युवाको आकर्षण निकै बढेको पाएको छु ।”
पोखराका अर्का चित्रकार निशान थापा पनि चित्रकलाले घरखर्च चलेको बताए । उनी पोखराका विद्यालयमा चित्रकला पढाउँछन् । पोखरामा चित्रकला पढाउने शिक्षक २५ जना हाराहारीमा रहेको उनले बताए । “अहिले पोखराका अधिकांश विद्यालयमा चित्रकला पढाइ हुन्छ, त्यहाँ चित्रकला पढाउने शिक्षक अधिकांश युवा नै हुनुहुन्छ,” चित्रकार निशानले भने,“चित्रकला पढाउनका लागि ‘पार्टटाइम’ शिक्षक राख्ने चलन छ, यसले गर्दा पोखराम २५ जना जतिले रोजगारी पाएका छौँ ।”
अवसरका कारण ललितकला क्षेत्रमा युवाको आकर्षण बढे पनि टिक्न समस्या रहेको चित्रकार निशान सुनाउँछन् । “सिक्न चाहने युवा धेरै नै छन् तर यही क्षेत्रमा टिकाइरहन समस्या छ”, उनले भने,“उनीहरुलाई यो क्षेत्रमा टिकाउन सरकारले बेलाबेलामा ललितकला प्रदर्शनी गरिदिनुपर्छ अनि प्रोत्साहनका लागि कार्यक्रम ल्याउनुपर्छ ।”
युवा अवस्थाका झवीन्द्र र निशान जस्तै पोखराका धेरै युवा ललितकलालाई पेसा बनाएर लागेका छन् । उनीहरुले यही पेशाबाट आफ्नो दैनिकी चलाइरहनुभएको छ । वरिष्ठ ‘कार्टुनिस्ट’ दुर्गा बराल ‘वात्स्यायान’ आफ्नो पालामा भन्दा अहिले कलाकार बढिरहेको बताउँछन् । पोखरामा ललितकला क्षेत्रमा युवाको आकर्षण बढेको देख्दा खुसी लागेको उनले सुनाए ।
“पहिले हामीले कलाकारको एउटा संस्था गठन गर्ने भनेर पोखराभरि कलाकार खोज्दा १० जना पनि पु¥याउन मुस्किल भएको थियो”, वात्स्यायानले विगत सम्झिए, “कमसेकम ११ जनाको संस्था बनाउने भनेको आखिरमा सातजना जम्मा भएर संस्था गठन गरेका थियौँ ।” अहिले त्यस्तो अवस्था नरहेको वात्स्यायानले बताए। उनका अनुसार पोखरामा स्थापना भएको सृजनशील कलाकार समूहमा ६० जनाभन्दा बढी सदस्य रहेका छन् । यसबाहेक पोखरामा नयाँ पुराना अनि विद्यार्थी कलाकार सबै गन्दा पाँच सयको हाराहारीमा पुग्ने उनले सुनाए ।
ललितकला क्षेत्रमा युवाको आकर्षण बढिरहेको अवस्थामा सरकारी र निजी क्षेत्रबाट ललितकलाको गतिविधि बढाउनुपर्ने वात्स्यायानले सुझाव दिए । “आर्ट ग्यालरी स्थापना गरिदिने अनि कलाकृति बिक्री कक्ष स्थापना गरिदिने, म्युजियम राखिदिने हो भने अझै राम्रो हुन्छ”, उनले भने, “यी क्षेत्रहरुमा सरकारले लगानी गरिदिने हो भने ललितकलामा गतिविधि बढ्नाका साथै यो क्षेत्रमा आकर्षण झनै बढ्छ ।”
ललितकला क्षेत्रमा युवाको आकर्षण बढ्दो रहेकाले गण्डकी प्रदेशमा गण्डकी प्रज्ञा–प्रतिष्ठान स्थापना भएदेखि नै कला क्षेत्रलाई विशेष महत्व दिइरहेको गण्डकी प्रज्ञा–पतिष्ठानका कुलपति सूर्य खड्काले बताए । देशलाई चिनाउने सहज माध्यम कलाकारिताका भएकाले वरिष्ठदेखि भर्खर यो क्षेत्रमा लागेकाहरुको प्रोत्साहनका लागि पुरस्कार अर्पण गर्दै आएको कुलपति खड्काले बताए।
प्रतिष्ठानले ललितकला प्रदर्शनीका साथै आर्ट कला कार्यशाला पनि गरिरहेको उनले बताए । “हामीले ललितकला प्रदर्शनी र कार्यशालासँगै आर्ट ग्यालरी बनाउनका लागि पनि सहयोग गरेका छौँ”, कुलपति खड्काले भने, “आगामी दिनमा भइरहेको कामलाई निरन्तरता दिँदै आगामी वर्ष मार्च ११ मा अरनिको जन्मदिनमा विभिन्न कार्यक्रम गर्ने योजना छ ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया