सरकारको आम्दानी भन्दा खर्च बढी, संशोधित लक्ष्य समेत पुरा नहुने जोखिम

0
Shares

चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्मा सरकारको आम्दानी भन्दा खर्च धेरै रहेको छ । आठ महिनाको अवधिमा सरकारको ढुकुटी एक खर्ब ३७ अर्ब ७४ करोडले घाटामा पुगेको छ ।

चालु आवको ८ महिना अवधिमा ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गर्दा ८ खर्ब १ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले ८ महिनामा चालु आवको लक्ष्यको ४५.०८ प्रतिशत आम्दानी गरेको छ भने खर्च ४५.७७ प्रतिशत गरेको छ ।

सरकारले चालु आवको ८ महिनामा कुल ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गरेको छ । जसमध्ये कर आम्दानीमार्फत ५ खर्ब ७८ अर्ब ६७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ भने गैरकर आम्दानीमार्फत ६० अर्ब ३७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै समीक्षा अवधिमा सरकारले अनुदानबापत २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा अन्य शिर्षकमा २२ अर्ब २ करोड ८८ लाख आम्दानी रहेको छ ।

सरकारले चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व आम्दानीको लक्ष्य निर्धारण गरेको थियो भने १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो । आर्थिक वर्ष सकिन ४ महिना अवधि मात्रै बाँकी रहँदा सरकारले लक्ष्यको ४५ प्रतिशतको हाराहारीमा आम्दानी र खर्च गर्न सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

चालु आवमा सरकारले ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा आठ महिनाको अवधिमा जम्मा ८१ अर्ब २१ करोड ४८ लाख रुपैयाँ खर्च गर्न सकेको छ । जुन पुँजीगत खर्च लक्ष्यको २६.८९ प्रतिशत मात्रै हो ।

साधारण खर्चतर्फ भने सरकारले चालु आवमा लिएको लक्ष्यको ५०.९८ प्रतिशत अर्थात ५ खर्ब ८२ अर्ब १० करोड ९९ लाख खर्च गरेको छ । त्यस्तै समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ लक्ष्यको ४४.९७ प्रतिशत अर्थात १ खर्ब ३८ अर्ब २५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याउँदा चालु तर्फ ११ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४ दशमलव १३ प्रतिशत मात्रै खर्च हुने, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८ दशमलव ८४ प्रतिशत मात्रै खर्च हुने र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा त्यसको ८७ दशमलव ३९ प्रतिशत मात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा यो वर्ष १२ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने संशोधित लक्ष्य तय गरिएको छ । फागुन सम्म भएको खर्चको आधारमा संशोधित अनुमान अनुसार पनि आम्दानी र खर्चको लक्ष्य पुरा नहुने देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।