राहदानी बापतको विदेशी मुद्रा क्यूआर मार्फत भुक्तानी गर्न सकिने, भारु सीमा दैनिक १५ हजार

0
Shares

नेपाल राष्ट्र बैंकले क्रस बोर्डर क्यूआर भुक्तानीको नीतिगत व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भारतसंगको क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु भएसंगै अन्य देशका लागि पनि सहज हुने गरी आवश्यक व्यवस्था गरेको हो ।

राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारत तथा अन्य मुलुकहरुमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गर्दै केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकिकृत निर्देशनमा संशोधन गरेको छ । सो संशोधन अनुसार वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता भएका व्यक्तिले राष्ट्रिय भूक्तानी स्वीच मार्फत क्यूआरबाट विदेशमा भुक्तानी गर्न सक्ने भएका हुन।

भारतसंगको क्रस बोर्डरको कारोबार सुरु भएसंगै केन्द्रीय बैंकले बैदेशिक रोजगारी तथा विदेश भ्रमणमा जाने नेपालीका लागि राहदानी बापत दिने विदेशी मुद्रामा समेत क्युआर मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्था भएसंगै विदेश जाने नेपालीले विदेशी मुद्रा सटही गरेर साथमा लैजानु नपर्ने भएको छ । विदेशी भ्रमणमा जानेले विदेशमै क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीच मार्फत भुक्तानी गर्न सक्नेछन ।

केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खातामा आवद्ध विद्युतीय बैंकिङ्ग (ई–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ तथा क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन भा.रु. १५ हजार र प्रति महिना भा.रु. एक लाख जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । तर, यस्तो सटही सुविधामा सीमा समेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको इण्डोर नेपाल रेमिन्ट्यान्स फ्यासीलिटी स्कीमको अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्यूआर मार्फत राष्ट्रिय भुक्तानीको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्राउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।

साथै नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी मर्चेन्ट पेमेन्ट विदेशमा जारी भएको क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार हुने समेत केन्द्रीय बैंकले जनाएको छ । यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण /न्यूनीकरणका उपायहरु भने वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।

विदेश भ्रमण तथा रोजगारका क्रममा परिवर्त्य विदेशी मुद्राको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा भुक्तानी हुन सक्ने गरी प्रदान गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।