राष्ट्र बैंक र बैंकहरूले प्रकाशित गर्ने तथ्याङ्क किन फरक हुन्छ ?


बैंकहरूले वित्तीय अवस्था सबल देखाउन सर्वसाधारणलाई गलत तथ्यांक सार्वजनिक गर्ने गरेका छन् । बैंकहरूले सर्वसाधारण र केन्द्रीय बैंकलाई दिने तथ्याङ्क नै फरक गरेर लगानीकर्ता तथा सर्वसाधारणलाई झुक्याउदै आएका हुन ।

केन्द्रीय बैंकका अनुसार बैंकहरूले हरेक त्रैमास समाप्त भएको एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्नु पर्छ । सो अनुसार बैंकहरूले आफ्ना सेयरधनीका लागि प्रकाशित गर्ने वित्तीय विवरण र राष्ट्र बैंकलाई बुझाउने तथ्याङ्कमा फरक गरेका हुन । बैंकहरूले कुनै सूचक कमजोर भएको खण्डमा सेयरधनीलाई झुक्याउने गरी तथ्याङ्क तोडमोड गरेर नियामकिय मापदण्ड भित्रै रहेको देखाउने गरेको पाइएको हो । बैंकहरूको यस्तो विकृतिले सर्वसाधारणलाई कम्पनीको वास्तविक अवस्था थाहा नहुन र लगानी सम्बन्धी निर्णय गर्दा गलत हुने गरेको एक सेयर लगानीकर्ताले बताए । यस्तो गलत अभ्यासलाई केन्द्रीय बैंकले गम्भिर रुपमा नहेरे सर्वसाधारण ठुलो जोखिममा फस्ने उनको भनाई छ ।

तर, बैंकहरूले नियामकिय प्रयोजनका लागि नेपाल राष्ट्र बैंकलाई बुझाउने विवरणमा भने तोडमोड नगरी बुझाउने गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरणमा ३ बैंकहरूको प्राथमिक पुँजी कोष अनुपात नै फरक परेको देखिएको हो । यसरी प्राथमिक पुँजी अनुपात नै फरक पार्ने बैंकहरूमा कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एसिया बैंक रहेका छन । यी तीन बैंकको प्राथमिक पुँजी केन्द्रीय बैंकमा बुझाएको विवरणमा भन्दा सर्वसाधारणलाई सार्वजनिक गरेको विवरणमा धेरै देखाएका हुन । तर, सञ्चालनमा रहेका अन्य १७ बैंकहरूको तथ्याङ्क भने दुबै विवरणमा समान रहेको देखिन्छ ।

बैंकहरूले संस्थाका वित्तीय सूचक सबल र नियामकिय मापदण्ड भित्र नरहेको अवस्थामा तथ्याङ्कमा तोडमोड गर्ने गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “केन्द्रीय बैंक र सर्वसाधारणलाई प्रकाशित हुने विवरण फरक पर्नुको मुख्य कारण भनेको बैंकहरूले व्यवस्थापन गर्नु पर्ने जोखिमका लागि गर्नु पर्ने व्यवस्थामा फरक पर्ने भएकाले हो,” ती अधिकारीले भने, “बैंकहरूले तथ्याङ्क तोडमोड गरेको केन्द्रीय बैंकले सुपरीवेक्षण गर्दा सच्याउन भन्छौ ।” बैंकहरूले गर्नु पर्ने भन्दा थोरै जोखिम व्यवस्था गरेको तथा सम्पत्तिको जोखिम भार पनि तोकिएको भन्दा न्यून गरेको हुनाले प्राथमिक पुँजी कोष धेरै देखिएको उनको भनाइ छ । केन्द्रीय बैंकले तोकेअनुसार जोखिम व्यवस्था र जोखिम भार गरेपछि ती बैंकहरूको प्राथमिक पुँजी कोष अनुपात घटेको उनले जानकारी दिए ।

बैंकहरूले सर्वसाधारणलाई प्रकाशित गर्ने वित्तीय विवरणहरूमा खराब कर्जा, जोखिम भार, प्रोभिजनिङ लगायतका सूचकहरूमा चलखेल गर्ने गरेको एक पूर्व बैङ्करले बताए । बैंकहरूले वित्तीय सूचक कमजोर हुँदा पनि सबल देखाउन यस्तो चलखेल गर्ने गरेको बताउदैन उनले भने, “केही बैंकहरूले गर्दा सबै बैंकहरूको तथ्याङ्कको विश्वसनियता मै प्रश्न उब्जिएको छ ।” यसमा केन्द्रीय बैंक पनि गम्भिर हुने पर्ने बताउदैन उनले तथ्याङ्क तोडमोड गर्ने संस्थालाई कारबाही गर्न सुझाए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सरकारी लगानी भएको कृषि विकास बैंकले प्राथमिक पुँजी कोष अनुपात १२.११ प्रतिशत प्रकाशित गर्यो । तर, केन्द्रीय बैंकले प्रकाशित गर्ने त्रैमासिक विवरण पुस मसान्तसम्ममा बैंकको पुँजीकोष अनुपात ११.४५ प्रतिशत मात्र कायम भएको छ । त्यसैगरी अन्तराष्ट्रिय ब्रान्ड स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि सर्वसाधारणलाई १४.२५ प्रतिशत प्राथमिक पुँजी कोष रहेको वित्तीय विवरण दियो । तर, केन्द्रीय बैंकको विवरण अनुसार बैंकको पुँजी कोष १३.२६ प्रतिशत मात्र देखिन आएको ।

साथै सो अवधिमा एनआईसी एसिया बैंकको पनि प्राथमिक पुँजी अनुपात निकै फरक देखिएको छ । सर्वसाधारणलाई प्रकाशित गरेको विवरण अनुसार बैंकको प्राथमिक पुँजी कोष ९.०३ प्रतिशत रहेको छ । तर, केन्द्रीय बैंकको विवरण अनुसार बैंकको प्राथमिक पुँजी कोष अनुपात नियामकिय मापदण्ड भन्दा थोरै छ ।

क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरूको प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनु पर्छ । सो भन्दा कम भएको खण्डमा लाभांश वितरणमा रोक लगानी देखि संस्थाको व्यवस्थापन हस्तक्षेप गर्ने सम्मको कारबाही हुन्छ । सो अनुसार एनआईसी एसिया बैंकले यो वर्ष पनि सेयरधनीलाइ लाभांश वितरण गर्न पाउदैन । बैंकले गत वर्षमा पनि प्राथमिक पुँजी कोष अनुपात न्यून भएकाले कारण लाभांश वितरणमा केन्द्रीय बैंकले रोक लगाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।