नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा उपाध्याय नियुक्त


नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गतेको बोर्ड बैठकले कम्पनीको अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले फागुन ३० नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफु उत्साहित भएको बताए ।

उनले भने, ‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र अफलाइन मोड जस्ता सुविधाहरू द्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ । हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं’ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ चैत २०८०, सोमबार  ०७ : २९ बजे