वित्तीय क्षेत्रको कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादनको १२७%, पहिलो पटक वित्तीय क्षेत्र सर्वेक्षण

0
Shares

बैंक, वित्त तथा अन्य वित्तीय संस्थाको कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादन भन्दा २७ प्रतिशत विन्दुले बढेको छ । केन्द्रीय बैंकका अनुसार २०८० असारसम्ममा वित्तीय क्षेत्रको कर्जालगानी कुल ग्रार्हस्थ उत्पादनको १२७.३ प्रतिशत हुन आएको हो ।

नेपाल राष्ट्र बैंकले पहिलो पटक पछिल्लो ४ वर्षको वित्तीय सर्वेक्षण प्रतिवेदन सर्वाजनिक गर्दै कर्जा लगानी निरन्तर बढीरहेको जनाएको हो । वित्तीय क्षेत्र सर्वेक्षणमा केन्द्रीय बैंक, निक्षेप सङ्कलन गर्ने बैंक तथा वित्तीय संस्थाहरु (क, ख र ग वर्ग) र गैर–बैंकिङ वित्तीय संस्थाको एकिकृत विवरण तयार गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. प्रकास कुमार श्रेष्ठले बताए ।

“वित्तीय क्षेत्र सर्वेक्षण सहकारी बाहेकका निक्षेप लिने र नलिने सबै संस्थाको तथ्याङक एकिकृत गरिएको छ,”उनले भने,“सहकारीको पनि समेट्न सकेको भए अर्थतन्त्र र वित्तीय क्षेत्रको बास्तविक आकार पहिचान हुन थियो, सहकारी बाहेकको वित्तीय सर्वेक्षणले नजिक पुग्न मात्र सहयोग गरेको छ ।” सहकारीको तथ्याङक संकलन भद्रगोल अवस्थामा भएकाले समेट्न नसकेको पनि उनले बताए । वित्तीय क्षेत्र सर्वेक्षण तयार गर्दा कुल ग्रार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्बलाई आधार मानिएको छ ।

उनका अनुसार वित्तीय क्षेत्र सर्वेक्षण भनेको मौद्रिक सर्वे र अन्य वित्तीय संस्था सर्वेक्षणको एकिकृत रुप हो । गत असारमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मात्रै कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादनको ९०.६५ प्रतिशत रहेको थियो । त्यसैगरी अन्य वित्तीय संस्थाको मात्र कर्जा लगानी कुल ग्रार्हस्थ उत्पादनको ३४ प्रतिशत रहेको छ ।

सर्वेक्षण अनुसार पछिल्लो ४ वर्षमा वित्तीय क्षेत्रको कर्जा लगानी निरन्रत बढ्दै गएको छ । २०७७ असार मसान्तसमा कुल ग्रार्हस्थ उतपादनको ११.३ प्रतिशत कर्जा लगानी गरेको वित्तीय क्षेत्रले २०७८ मा १२५.३ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०७९ असारमा धकुल ग्रार्हस्थ उतपादनको १२७.८ प्रतिशत कर्जा लगानी रहेको वित्तीय क्षेत्रको २०८० असारमा १२७.३ प्रतिशत पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार कुल ग्रार्हस्थ उत्पादनमा नीजि क्षेत्र माथि वित्तीय क्षेत्रको दावी १०७.७ प्रतिशत रहेको छ भने तरल सम्पत्तिमा ९९.९ प्रतिशत दावी रहेको सर्वेक्षणमा उल्लेख छ । त्यसैगरी वित्तीय क्षेत्रको डिमाण्ड डिपोजीट कुल ग्रार्हस्थ उत्पादनको ७.७ र अन्य निक्षेप ८२.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रहेकोमा २४.५ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १४ खर्ब ५२ अर्ब ३ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड रहेको थियो ।

वित्तीय क्षेत्रको आन्तरिक दावी २०७९ असार मसान्तमा ६३ खर्ब ०५ अर्ब ८१ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ६८ खर्ब ५० अर्ब ३० करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा ५४ खर्ब५ ३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रहेको थियो ।
वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दावी २०७९ असार मसान्तमा ७ खर्ब ५३ अर्ब २८ करोड रहेकोमा ३५.८ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब ९ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा ५ खर्ब९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब २६ करोड रहेको थियो ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७९ असार मसान्तमा ५५ खर्ब २० अर्ब ९ करोड रहेकोमा ५.० प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ५७ खर्ब ९४ अर्ब ७६ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा ४८ खर्ब २१ अर्ब ८८ करोड र २०७७ असार मसान्तमा ३८ खर्ब २७ अर्ब १२ करोड रहेको थियो ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०७९ असार मसान्तमा ५ खर्ब २ अर्ब ७६ करोड रहेकोमा १.१ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ५ खर्ब ८ अर्ब ३७ करोड पुगेको छ । वित्तीय क्षेत्रभन्दा बाहिर रहेको यस्तो मुद्रा २०७८ असार मसान्तमा ५ खर्ब ६६ अर्ब ९५ करोड र २०७७ असार मसान्तमा ४ खर्ब ८५ अर्ब ६८ करोड रहेको थियो ।

त्यसैगरी अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा १ अर्ब ७० करोडले ऋणात्मक रहेकोमा २०८० असार मसान्तमा ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ । अन्य वित्तीय संस्थाको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १ अर्ब १८ करोड र २०७७ असार मसान्तमा २ अर्ब १ करोडले ऋणात्मक रहेको थियो ।

अन्य वित्तीय संस्थाको केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्था माथिको दावी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानी लगायतका दावीसमेत) २०७९ असार मसान्तमा ८ खर्ब ३२ अर्ब ६७ करोड रहेकोमा ७.२ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ८ खर्ब ९६ अर्ब ९ करोड पुगेको छ । अन्य वित्तीय संस्थाको यस्तो दावी २०७८ असार मसान्तमा ६ खर्ब १ अर्ब ९ करोड र २०७८ असार मसान्तमा ७ खर्ब ३८ अर्ब ५२ करोड रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।