सुरक्षित वित्तीय भविष्यको निम्ति सानै उमेरदेखि बचतको अभ्यास गर्नु पर्छ: गभर्नर 


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुरक्षित वित्तीय भविष्यका लागि सानै उमेर देखि बचतको अभ्यास गर्नु पर्ने बताएका छन । ग्लोबल मनि विकको उद्घाटनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गरेर वित्तीय साक्षरता प्रदान गर्नु पर्ने बताएका हुन । 

‘प्रोटेक्ट योर मनि, सक्यूर योर फिउचर’ भन्ने नाराका सोमबार देखिए सुरु भएको ‘ग्लोबल मनी विक – २०२४’ एक साता चल्नेछ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा काठमाडौं स्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । 

कार्यक्रममा गभर्नर अधिकारीले उद्घाटन गर्दै वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी बनाउनु पर्ने बताए । वित्तीय साक्षरताको प्रवद्र्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने बताउँदै गभर्नरले भने, “राज्यका सबै तहका व्यक्तिसमक्ष वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो ।”

ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले सबैसरोकारवाला निकायलाई आग्रह गरे । सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन । 

चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यस अभियानअन्तर्गत बैंकिङर वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्य दृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । 

युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रम मसमेत तय गरिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । ‘ग्लोबल मनी विक’ मूलतः किशोर र किशोरी तथा युवा र युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमन्ट ओईसीडी को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।