इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन


इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ रुपैयाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ९९ लाख ६४ हजार ५६ रुपैयाँ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन हुने गरेको छ ।

समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय ८८ रुपैयाँ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ रुपैयाँ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ रुपैयाँ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा २१ लाख १० हजार चार सय ७५ रुपैयाँ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यसैगरी, मङ्सिरमा १८ लाख ३२ हजार पाँच सय ५७ रुपैयाँ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा १५ लाख ४२ हजार ९७ रुपैयाँ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिाँन्सी तथा फागुनमा १४ लाख ५५ हजार दुई सय ४३ रुपैयाँ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी सङ्कलन भएको छ ।

पाथीभरा मन्दिरमा सङ्कलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । “भक्तजनको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,” अध्यक्ष स्याङ्बोले भने, “हामी सधैँ पारदर्शिता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।”

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी सङ्कलन भएको थियो । सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत २०८०, मंगलबार  १४ : ०१ बजे