ई–७ भिसाका विषयमा कुनै पनि बहस भएको छैन : श्रममन्त्री


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ई–७ भिसा (सिपयुक्त दक्ष श्रमिकले पाउने प्रवेशाज्ञा) मा श्रमिक पठाउन दिने विषयमा कुनै वहस नभएको बताएका छन् । श्रम मन्त्रालयमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले ई–७ भिसाका विषयमा बजारमा आएको कुरा निराधार भएको बताएका छन् ।

‘म्यानपावर कम्पनीमार्फत कोरियामा श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन । ई–७ भिसाको विषयमा कुनै पनि बहस चलेको छैन । ई–नाइन (इपीएस) भिसा जुन छ त्यसलाई यसले कुनै पनि असर गर्दैन,’ उनले भने, ‘ई–सेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो, यसमा मन्त्रालयको कुनै पनि संलग्नता छैन ।’

उनले म्यानपावर कम्पनीले दक्षिण कोरिया र इजरायल कामदार पठाउन तत्काल नपाउने बताए । उनले कोरिया र इजरायल कामदार सरकारले मात्र पठाउने बताए। अहिले बजारमा हल्ला भएजस्तो दुवै देशमा कामदार पठाउने जिम्मा म्यानपावरलाई नदिएको जानकारी दिएका छन् ।

‘श्रम मन्त्रालयले विगतमा भएका केही सहमति र नीतिहरूमा अध्ययन गरिरहेको छ। त्यसमा पनि कोरिया र इजरायल विषयमा पनि अध्ययन अनुसन्धान भइहरेको छ। अहिले मिडियामा समाचार आएजस्तो दुवै देशमा म्यानपावरले कामदार पठाउन पाउँदैनन्,उनले भने, इजरायल सरकार र नेपाल सरकार बीच बीटुबीमा काम गर्ने गरी सम्झौता भएको छैन।’

यस्तै, उनले जापानको विषयमा पनि अहिले तत्काल केही निर्णय नभएको बताउँदै जापानका विषयमा सञ्चार माध्यममा आएका कुरा गलत भएको प्रस्टाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।