चालु आर्थिक वर्षको २०८०\८१ को आठ महिनासम्म नेपालले १० वस्तु आयातमा तीन खर्ब २ अर्ब ४० लाख २३ हजार रुपैयाँ खर्चिएको छ । जसवापत ८५ अर्ब ४७ करोड २६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार फागुनसम्म सबैभन्दा धेरै विदेशी मुद्रा डिजेल आयातमा विदेशिएको छ । कुल ८ लाख ४३ हजार १ सय ७० किलोलिटर डिजेल आयात गर्दा ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ ।
जसवापत सरकारले ३४ अर्ब २४ करोड ४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ लाख २० हजार ७७० किलो लिटर डिजेल आयात भएको थियो। यो वर्ष आठ महिनामा २.७३ प्रतिशतले बढी हो ।
यस्तै सबैभन्दा धेरै आयात हुनेको दोस्रो स्थानमा पेट्रोल छ । आठ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ५० हजार ५१ किलोलिटर पेट्रोल आयात भएको छ । जसवापत २५ अर्ब ७३ करोड ९० लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष ४ लाख ४१ हजार ८१९ किलोलिटर पेट्रोल आयात भएको थियो ।
तेस्रो स्थानमा खाना पकाउने ग्याँस (एलपीजी) आयात भएको छ । आठ महिनामा ३४ करोड ७२ लाख ३८ हजार ९ सय २२ किलो ग्याँस आयात भएको छ । यसको मूल्य ३५ अर्ब ८७ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको छ । जसवापत ६ अर्ब ६९ करोड २५ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष ३४ करोड आठ लाख ५९ हजार केजी ग्यास आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ग्यासको आयात १.८ प्रतिशतले बढेको छ ।
आयातको चौथो फलाम आयात रहेको छ । स्पन्ज आइरन आयात आठ महिनामा ५४ करोड १० लाख ९८ हजार ९ सय ३७ किलो भएको छ । जसको मूल्य २५ अर्ब ९१ करोड ४१ लाख ३७ हजार पर्न आउँछ ।
यसैगरी, पाँचौं स्थानमा एचआर सिट आयात भएको छ । एचआर सिट २८ करोड ४० लाख ४९ हजार ५ सय ५१ किलो आयात भएको छ । यसका लागि २४ अर्ब ४७ लाख ७३ लाख १४ हजार रुपैयाँ खर्चिएको छ । जसवापत ३ अर्ब ४१ करोड ११ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
छैटौं स्थानमा स्माटफोन रहेको छ । आठ महिनामा १२ लाख ४९ हजार ४ सय ८१ पिस स्माटफोन आयात भएकोे छ । १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको स्माट फोन आयात भएको हो । जसवापत सरकालाई ३ अर्ब ६० करोड ७५ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सबैभन्दा धेरै वस्तु आयात हुनेको सातौं स्थानमा औषधि रहेको छ । आठ महिनामा ९५ लाख ९० हजार ६ सय १ किलो औषधि आयात भएको छ । जसका लागि १७ अर्ब ९६ करोड ५५ लाख ८१ हवार रुपैयाँ बाहिरिएको हो । जसवापत सरकालाई ९० करोड ९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, आठौं स्थानमा सुन रहेको छ । आठ महिनामा १९ लाख १ हजार ८ सय ग्राम सुन आयात भएको छ । यसका लागि १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ रकम खर्च भएको विभागले जनाएको छ । जसवापत २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, नवौं स्थानमा कोइला आयात भएको छ । आठ महिनामा ९० करोड १४ लाख किलो भित्रिएको छ । जसको मूल्य १५ अर्ब ३८ करोड ९६ लाख ६ हजार रुपैयाँ परेको छ । जसवापत २ अर्ब ८४ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
आयात हुने वस्तुको १० औं स्थानमा हवाई इन्धन (एटीएफ) रहेको छ । कुल १ लाख २७ हजार ४ सय ७८ किलोलिटर एटीएफ भित्रिँदा १३ अर्ब ७५ करोड २१ लाख ७९ हजार बाहिरिएको विभागले जनाएको छ । जसवापत १ अर्ब ९५ करोड ५३ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया