रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग


गैर आवासीय नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन माग गरेका छन् ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा उनले अहिले पनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नु पर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नु पर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए । रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेको तर्फ सचेत गराउँदै अध्यक्ष शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यस्था गर्न पनि माग गरे ।

जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएका छन् । यस्तै उनले श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१\०८२ को बजेटका विषयमा पनि छलफल गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।