म सीआईबीमा उभिँदा विश्वभर गलत सन्देश गयो, मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन : चौधरी


नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको उल्लेख गरेका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफु निर्दोष हुँदा हुँदै पनि सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताएका हुन् ।

आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।

यस्तै उनले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु नपर्ने बताएका छन् । उनले भने, ‘मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । ’ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको उनको भनाइ छ ।

उनले भने,‘४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ।’

सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि चौधरी अनुसन्धानमा तानिएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।