सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर ३ करोड २१ लाख भ्रष्टाचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीउपर ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठम्याई छ ।

कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो । कार्कीलेलाई ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैंया ७५ पैसा बिगो कायम गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन समेत मागदाबी लिइएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलबारीमा खटिई कार्कीले काम गर्दै आएका थिए ।

कार्कीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत्र ३० गतेसम्मको अवधिमा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको भनाई छ ।

साथै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको र पत्नी देवका अधिकारीको नाममा समेत राखेको देखिएको हुँदा निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।