खराब कर्जा धेरै भएका बैंकहरुमध्ये कुमारी सबल, बैंकहरुको एनपीएल बढेपनि जोखिम एक तिहाइ मात्रै

0
Shares

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुको खराब कर्जा बढेपनि सो अनुसार जोखिम नबढेको पाइएको छ । बैंकहरुले कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा न्यून भएसंगै जोखिम पनि सामान्य रहेको स्पष्ट भएको हो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुको खराब कर्जा बढेको भएपनि कर्जा जोखिम व्यवस्था नगरेको कर्जा कुल कर्जाको १.१३ प्रतिशत मात्रै रहेको छ ।

सो अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु मध्ये ९ को खराब कर्जा ४ प्रतिशत भन्दा धेरै छ । धेरै खराब कर्जा भएका ९ बैंकहरु मध्ये कुमारी बैंक सबैभन्दा सबल देखिएको छ । अन्य बैंकको तुलनामा कर्जा जोखिम व्यवस्था नभएको खराब कर्जा कुमारीको सबैभन्दा थोरै देखिएको छ । सबै बैंकहरुको खुद निष्क्रिय कर्जालाई तुलना गर्दा कुमारी बैंकको र्याङक थोरै हुनेमध्ये शिर्ष ४ मा रहेको छ ।

बैंकहरुले प्रकाशीत गर्ने कुल एनपीएल कर्जा जोखिम व्यवस्था गरेको र नगरेको दुबैको योगफल रहेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “खुद खराब कर्जामा जोखिम व्यवस्था बापतको रकम नछुट्याएको कर्जा हो,” केन्द्रीय बैंकका ती अधिकारीले भने,“खराब कर्जा धेरै हुँदैमा समस्या हुदैन । त्यस्तो कर्जाको नोक्सानी व्यवस्था गरेको हुन्छ । कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा बढ््यो भने समस्या हुने हो ।”

पछिल्लो समयमा खराब कर्जाको सीमा ५ प्रतिशत भन्दा धेरै हुँदाका नियामकिय बन्देज पनि एकिकृत निर्देशनबाट हट्दै गएको अवस्था छ। तर, संस्थागत

निक्षेपकर्ताले आफ्नो निक्षेप राख्ने समयमा तोक्ने मापदण्डमा खराब कर्जा ५ प्रतिशत भन्दा धेरै हुन नहुने शर्त भने राख्ने गरेका छन् । बैंकहरुमा खराब कर्जा कति छ भन्दा पनि कर्जा नोक्सानी व्यवस्था नगरीएको कर्जा कति छ भन्नेमा ध्यान दिनु पर्ने केन्द्रीय बैंकका ती अधिकारीको भनाइ छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल बैंकको ४.५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७५, हिमालयन बैंकको ४.९४, कुमारी बैंकको ४.९७, लक्ष्मी सनराइज बैंकको ४.६७, ग्लोबल आइएमई बैंकको ४.६८, प्रभु बैंकको ४.९०, प्राइम कमर्सियल बैंकको ४.०७ र सिटिजन्स बैंक इन्टरनेशनलको ४.०७ प्रतिशत खराब कर्जा रहेको छ।

यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै खराब कर्जा देखिएको छ । तर, कुमारी बैंकको धेरै खराब कर्जा भएपनि अधिकांश कर्जाको नोक्सानी व्यवस्था गरेको छ । सो अवधिमा कर्जा नोक्सानी गरेकाले खुद खराब कर्जा अर्थात कर्जा नोक्सानी नभएको कुल खराब कर्जा ०.६७ प्रतिशत मात्र देखिएको छ ।

तर, सिटिजन्स बैंकको सबैभन्दा धेरै कर्जा नोक्सानी नगरीएको खराब कर्जा छ । केन्द्रीय बैंकका अनुसार सिटिजन्सको कुल कर्जाको १.९१ प्रतिशत नोक्सानी व्यवस्था नगरीएको खराब कर्जा रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा सिटिजन्स बैंकको कुल खराब कर्जा ४.०७ प्रतिशत रहेको छ । कुल खराब कर्जा मध्ये बैंकले करिब आधाको कर्जा नोक्सानी नगरेको देखिन्छ ।

चालु आवको पुससम्ममा सबैभन्दा थोरै खुद खराब कर्जा नेपाल एसबीआई बैंकको रहेको छ । सो अवधिमा बैंकको कुल खराब कर्जा २.२९ प्रतिशत हुँदा खुद खराब कर्जा भने ०.१४ प्रतिशत मात्र रहेको छ । त्यसैगरी सबैभन्दा थोरै ०.७७ प्रतिशत कुुल खराब कर्जा रहेको एभरेष्ट बैंकको खुद खराब कर्जा ०.२१ प्रतिशत रहेको छ ।

साथै १.६० प्रतिशत खराब कर्जा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद खराब कर्जा ०.६९ प्रतिशत रहेको छ । यो खुद खराब कर्जा कुमारी बैंकको भन्दा धेरै हो ।

केन्द्रीय बैंकका अनुसार असल कर्जामा १.२५, सुक्षम निगरानीको कर्जामा ५, कमसल कर्जामा २५, संकास्पद कर्जामा ५० र खराब कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्छ । यो व्यवस्था अनुसार कर्जामा कुनै पनि किसिमको जोखिम देखिएको खण्डमा सोही अनुसार नाफाबाट नोक्सानी व्यवस्था गर्दा कर्जाबाट बैंकलाई हुने जोखिमको व्यवस्थापन हुन्छ । खराब कर्जामा शतप्रतिशत नोक्सानी व्यवस्था हुने भएपनि सो अनुसार नगरिएको कर्जालाई केन्द्रीय बैंकले खुदमा देखाएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।