केन्द्रीय बैंकले एक खर्ब ४१ अर्ब वित्तीय प्रणालीमा फिर्ता गर्यो, अधिक तरलताको समस्या झनै जटिल बन्दै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न खिचेको एक खर्ब ४१ अर्ब फिर्ता गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन र स्थायी तरलता सुविधा मार्फत लिएको पैसा परिपक्क भएपछि बिहीबार फिर्ता गरेसंगै वित्तीय प्रणालीको अधिक तरलताको समस्या झनै जटिल बनेको हो ।

केन्द्रीय बैंकले अधिक तरलता र ब्याजदरको अस्वभाविक उतारचढाव नियन्त्रणका लागि स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी अपेक्षा अनुसार बढाउन नसक्दा अधिक तरलताको समस्या जटिल बन्दै आएको छ । बढ्दो निक्षेप तुलनामा कर्जा लगानी हुन नसकेपछि बढेको अधिक तरलताले बैंकहरुको औसत कर्जा निक्षेप अनुपात समेत ७९.७३ प्रतिशतमा झरेको छ ।

बुधबारसम्म केन्द्रीय बैंकसंग बैंक तथा वित्तीय संस्थाको करिब एक खर्ब १४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बार भण्डारीले बताए । “बैंक तथा वित्तीय संस्थाको करिब ९० अर्ब स्थायी निक्षेप सुविधा र ५० अर्ब निक्षेप संकलन उपकरण बिहीबार परिपक्क भएपछि फिर्ता दिएका छौ,” भण्डारीले भने,“उक्त भुक्तनी दिएसंगै वित्तीय प्रणालीमा करिब ९० अर्ब अधिक तरलता बढेको छ।”

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बिहीबार ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । उक्त निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले करिब एक खर्ब २० अर्बको माग आवेदन दिएका छन । बिहीबार केन्द्रीय बैंकबाट फिर्ता भएको पैसाका कारण निक्षेप संकलनका लागि अधिक आवेदन परेको भण्डारीले बताए । निक्षेप संकलनको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने भएकाले उच्च प्रतिस्पर्धाका कारण घटेको उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण मार्फत तरलता दिन केन्द्रीय बैंकले जारी गर्ने समय पर्खनु पर्छ । तर, स्थायी निक्षेप सुविधाका लागि बैंकहरुले आइतबार र बुधबार पर्खनु पर्छ । निक्षेप संकलन ७ दिने १४ दिने अवधिको हुन्छ भने स्थायी निक्षेप ४ दिन अवधिको हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत तरलता केन्द्रीय बैंकलाई दिँदा ३ प्रतिशत ब्याजदर पाँउछन भने निक्षेप संकलन उपकरणबाट पाउने ब्याजदर भने प्रतिस्पर्धाले निर्धारण गर्छ ।

बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन ग्रयो । त्यसले वित्तीय प्रणालीको तरलता व्यवस्थापन नभएपछि शुक्रबार २१ दिन अवधिको ५० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्न पनि आइतबार पर्खनु पर्ने भएपनि शुक्रबार नै निक्षेप संकलन उपकरण मार्फत निक्षेप संकलन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बिहीबारको निक्षेप संकलन उपकरणका लागि १९ आवेदकले ९५ आवेदन मार्फत एक खर्ब १९ अर्ब ९० करोड रुपैयाँ दिन खोजेको केन्द्रीय बैंकले जनाएको छ । त्यसका लागि उनीहरुले अधिकतम २.६९ र न्यूनतम २ प्रतिशत ब्याजदर माग गरेका छन् । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.५०५३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघिको तुलनामा थोरै हो । यसअघि फागुन २४ गते निष्कासन भएको निक्षेप संकलनको औसत ब्याजदर २.८२१० कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।