भारतले लम्ब्यायो प्याज निर्यात प्रतिबन्ध, जीटूजी मार्फत आयातको पहल गर्न व्यवसायीको माग


भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले २०२३ डिसेम्बरदेखि सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि भन्दै प्याज निर्यातमा रोक लगाएको थियो ।

अब निर्यातमा रोक लगाएको अवधि अझै लम्बिने भएको छ । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि निर्यात प्रतिबन्ध कायमै हुने जानकारी दिएको हो ।

महानिर्देशनालयको सूचनामा भनिएको छ,‘३१ मार्चसम्मका लागि लगाइएको प्याजको निर्यात अर्को सूचना जारी नहुँदासम्मका लागि कायम राखिएको छ ।’ भारत सरकारले प्याजको निर्यातबाट आन्तरिक बजारमा आपूर्ति कम हुँदा प्याजको अभाव हुन नदिन यसको निर्यातमा रोक लगाउँदै आइरहेको छ ।

भारतले निर्यात अवधि लम्बाउँदा नेपाललाई प्रत्यक्ष असर गर्ने आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेल बताउँछन् । सरकाले जीटूजी (सरकार–सरकार)मार्फत प्याज आयात गर्न पहल गरेतापनि सरकारले बेवास्ता गरेको बताए । गजुरेलले भने, ‘हामीले नेपाल सरकारसँग पटक–पटक जीटूजी मार्फत आयात गर्न पहल गरिदिनस् भन्दा सरकाले वास्ता गरेन । आश्वासन मात्र आयो ।’

भारतमा प्याज उत्पादन नै कम भएकोले भारतबाट अझै धेरै समय प्याज आयात नहुने उनको दाबी छ । यद्यपी, आठ महिनामा २ अर्ब ५ लाख ३१३ रुपैयाँ बराबरको ४ करोड ७० लाख ८१ हजार १३१ केजी प्याज आयात भएको छ ।

जसमध्ये भारतबाट मात्रै १ अर्ब ९३ करोड रुपैयाँ बराबरको प्याज भारतबाट मात्रै आयात हुने गरेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि कहाँबाट प्याज आयात भएको हो भन्नेबारे आफुलाई जानकारी नरहेको गजुरेल बताउँछन् । केही व्यापारीहरुले लुकीछिपी प्याज आयात गरिरहेको हुन सक्ने उनको भनाइ छ ।

भन्सार विभागका अनुसार भालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक अर्ब ९४ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबरको ४ करोड ६७ लाख १० हजार ४ सय २५ केजी ताजा वा चिसो प्याज आयात भएको छ । यस्तै, पाँच करोड ६६ लाख ९६ हजार रुपैयाँ बराबरको ३ लाख ६९ हजार २ सय ६३ केजी सुकेको प्याज आयात गरेको छ ।

यस्तै, आठ महिनामा ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ हजार ४ सय ४३ केजी प्याजको बीउ आयात भएको छ । आठ महिनामा विभिन्न प्रकारको प्याज आयातबाट ४९ करोड ६५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

यता, भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्द्धको अवधि लम्बाएसँगै काठमाण्डौंको मुख्य तरकारी बजार कालिमाटीमा प्याजको आयात घटेको छ । चैत ९ गते १ लाख २३ हजार ५४५ केजी प्याज आयात भएकोमा सोमबार ६८ हजार ९०० केजी मात्र प्याज आयात भएको छ । मंगलबार भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ७० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ७५ रुपैयाँ तोकिएको छ । कालिमाटीमा नेपाली प्याज भने उपलब्ध नभएको कालिमाटी बजार विकास समितिले जनाएको छ ।

नेपालमा भारत र चीनबाट प्याज आयात हुने गरेको छ भने भारत चीन, इन्डोनेसिया, कोरिया, साउथ अफ्रिका लगायत देशबाट प्याजको बीउ आयात हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।