पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने


सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताएका छन् ।“हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन ।यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने ।

सन् २०१७ मा सहर छनोट गर्दा छ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।

सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।

पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ चैत २०८०, बुधबार  ०९ : ३३ बजे