अन्तर्राष्ट्रिय अनुदान तथा ऋणको वितरण प्रक्रिया एकीकृत गर्न नेपाल सरकार र दातृ निकायबीच सहमति

0
Shares

नेपाल सरकारले दातृ निकायबाट प्राप्त गर्ने अनुदान तथा ऋणको वितरण प्रक्रिया एकीकृत बनाउन नेपाल सरकार, ६ बहुपक्षीय विकास बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्था सहमत भएका छन् ।

अर्थमन्त्रालयसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरिने दुई दिने ‘बहुपक्षीय विकास बैंकको वितरण समन्वय कार्यशाला’ को समाप्तिसँगै नेपाल सरकार, बहुपक्षीय विकास बैंक र अन्तराष्ट्रिय वित्तीय संस्था–एजांस फ्रान्सेज दे डेभल्पमेन्ट, एसियन डेभल्पमेन्ट बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, अन्तर्राष्ट्रिय कृषि विकास कोष, ओपेक आन्तर्राष्ट्रिय विकास कोष, र वल्र्ड बैंकबीच वितरण प्रक्रिया एक बनाउन समन्वय गर्ने सहमति जुटेको हो ।

यस समन्वयले नेपालको प्रशासनिक कार्य दक्षता बढाउन मदत गर्नुका साथै विकास लक्ष्यलाई साकार रुप दिन सहजता प्रदान गर्नेछ । नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरुमा अन्तराष्ट्रिय दात्री निकायहरुले अनुदान तथा ऋण प्रदान गरी देश विकास गर्न सहयोग गरिरहेका हुन्छन् । तर विभिन्न दात्री संस्थाहरुले प्रदान गर्ने ऋण सहयोग तथा अनुदानको वितरण शैली फरक हुँदा र नेपालको प्रशासनिक कार्य दक्षता अब्बल नहुँदा अनुदान रकमको किस्ता प्राप्त गर्न समस्या परिरहेको हुन्छ । ती समस्याको समाधान गर्नका लागि अन्तराष्ट्रिय दात्री निकाय र नेपाल सरकारबीच वितरण प्रकियामा एकरुपता कायम गर्ने गरी सहमति भएको छ ।

एकीकृत वितरण प्रणाली विकासका लागि बहुपक्षीय विकास बैंकसँग सहमति भएसँगै यसले वित्तको बाँडफाँडमा सहजता ल्याउनुका साथै कार्य दक्षता अभिवृद्धि गरी समयमै रकम प्राप्त गर्न र विकासको लक्ष्य हासिल गर्न सहयोग गर्ने अर्थमन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले बताए ।

वल्र्ड बैंककी उपाध्यक्ष तथा नियन्त्रक पामेला ओ’कनेल भन्छिन्, ‘नेपालको कार्य दक्षता सुदृढीकरणका लागि वल्र्ड बैंकले निरन्तर प्रयास गरिरहेको छ । नेपालले तय गरेका विकास लक्ष्य प्राप्तिका लागि अन्य विकास साझेदारहरुसँग वितरण प्रणाली एकीकृत गर्न वल्र्ड बैंक प्रतिबद्ध छ ।’

यस्तै तीन सरकारको तीन तहको संरचना (स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकार)ले प्राप्त गर्ने वित्तको वितरण प्रणाली विस्तारका लागि प्रतिवेदन बनाउनुका साथै कानुनी प्रक्रियाको विकास गर्ने नेपाल सरकार र दात्री निकायबीच सहमति भएको छ ।

नेपाल सरकारको प्रशासनिक कार्यमा सुधार ल्याउन बहुपक्षीय विकास बैंक तथा अन्तराष्ट्रिय संस्थाले गरेको कामको विवरणको प्रतिवेदन टेम्प्लेटलाई सुदृढीकरण गरी अन्तराष्ट्रिय स्तरको बनाउने र देशको प्रशासनिक प्रणाली बलियो बनाउन सहकार्य गर्ने सहमति भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।