बीमा क्षेत्रमा योगदान पुर्याउने पाँच पूर्व सीईओ सम्मानित

0
Shares

जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्व कार्यकारी अधिकृत (सीईओ) हरुलाई सम्मानित गरेको छ । संघले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व सीईओहरुलाई सम्मानित गरेको हो ।

जीवन बीमक संघ नेपालले पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको छ । संघले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितीमा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

संघका अध्यक्ष तथा सिटिजन लाइफका सीईओ पोषकराज पौडेलले कार्यक्रममा निर्मल ढकाल र एलपी दास भने विशेष कारणले गर्दा उपस्थित हुन नसकेको जानकारी दिए । सम्मान कार्यक्रमले बीमा क्षेत्रका कर्मचारी लगायत योगदान पुर्याउने मानिसहरुलाई हौसला प्रदान हुने संघको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु सम्मानित गरी आउने समयमा पनि उनीहरुको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडि बढाउनुपर्ने बताए । साथै, उनले बीमा क्षेत्रलाई विकास गर्न र यसको दायरा अगाडि बढाउन योगदान पुर्याएका पूर्व सीईओहरुलाई धन्यवाद पनि व्यक्त गरे ।

जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले भने ‘समग्र रुपमा बीमा क्षेत्रमा लामो समयदेखि कार्य गरी रहेका तथा नेपालको बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने कर्मचारी तथा पूर्व सीईओहरुलाई सम्मानित गर्नु आवश्यक रहेको छ’ ।

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल लाइफका सीईओ प्रविण रमण पराजुली, सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री तथा रिलायबल नेपाल लाइफका सीईओ नारायण बाबु लोहनीको उपस्थिती थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।