वीरगञ्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत एक करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताए ।
“गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ”, उनले भने,“अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।” ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उनको भनाइ छ ।
कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ । ट्रकबाट ८८ लाख १९ हजार दुई रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
त्यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने काररजीपरभ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट १२ लाख दुई हजार पाँच सय पाँच रुपैयाँ राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया