काठमाण्डौंको फोहोर व्यवस्थापनका लागि महानगर र शहरी विकास मन्त्रालयले सहकार्य गर्ने


काठमाण्डौं महानगरपालिका र शहरी विकास मन्त्रालयले काठमाण्डौंको फोहोर व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालय पुगेका काठमाण्डौंका मेयर बालेन्द्र शाह र शहरी विकासमन्त्री धनबहादुर बुढाका बीचमा भएको भेटमा यस्तो छलफल भएको हो ।

नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा मन्त्रालय र महानगरले सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको बताइएको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा मन्त्री बुढा र काठमाण्डौंका मेयर शाहका बीच छलफल भएको हो ।

तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन गर्ने किसिमले बन्चरे डाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा मिलेर अघि वढ्न शाहसँग मन्त्री बुढाले मेयर शाहसँग प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडावाट शुन्य फोहोर कार्यक्रम सुरु गर्न लागेकाले सहयोग गर्न आग्रह गरेका थिए ।

भेटमा मेयर शाहले बन्चरे डाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताएका थिए ।

मन्त्री बुढाले बन्चरे डाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।

मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिका भित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझाव समेत मागेका थिए ।

“संघिय सरकारको स्थायित्व यहाँलाई थाह नै छ, तर स्थानिय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाण्डौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ” मन्त्री बुढाले भने, “सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।”

जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर मात्र अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।

छलफलमा मेयर शाहले काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाईओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताएका थिए ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याल लगायत सहभागी भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।