कालिकोटमा निर्माण हुने ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युतको मुआब्जा वितरण अन्तिम चरणमा

0
Shares

कालिकोटमा निर्माण हुन लागेको ४८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तिम चरणमा पुगेको छ । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिकाका स्थानीयको घर, जग्गा र टहराको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको हो ।

जलविद्युत् आयोजना निर्माण हुने सान्नी त्रिवेणी गाउँपालिकाको सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र पचाल झरना गाउँपालिकाको भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जा रकम वितरण गरिएको हो । जिल्ला प्रशासनले सूचना प्रकाशन गरी अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको फुकोट कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताए । “जिल्ला प्रशासन कार्यालयले विभिन्न चरणमा विं.सं. २०७६ सालदेखि जग्गाको लगतकट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।” उनले भने, “अब जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।”

फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा रकम निर्धारण भएको ५५ करोडमध्ये हालसम्म ५० करोड रकम वितरण भइसकेको प्रमुख उप्रेतीले बताए । “केही घरटहराको मुआब्जा दिन बाँकी छ, धेरैजसो वितरण भइसकेको छ, यो वर्ष विनियोजित १३ करोडमध्ये ३ करोड वितरण गरिसकेका छौं ।”, प्रमुख उप्रेतीले भने, “अन्य ठाउँका लागि निवेदन सङ्कलन भइरहेको छ ।”

मुआब्जा वितरणको काम जिल्ला प्रशासनले तीन वर्षदेखि निरन्तर गरिरहेको सहायक प्रमुख जिल्ला सरोज अधिकारीले बताए । आयोजनाले सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा ५२० मिटरको परीक्षण सुरुङ खनेर १६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।