धरानमा फस्टाउँदै सुकुटीको व्यापार, सुकुटीबाटै लाखौँ कमाई 


धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् । पछिल्लो समय यहाँको सुकुटीको व्यापार पनि फस्टाउँदै गएको व्यापारीको भनाइ छ ।
 
निकेतन गल्लीमा मात्रै सुकुटी बेच्ने पसल एक दर्जन हाराहारीमा छन् । घरमै बनाएर बेच्न सकिने सुकुटीबाट महिलाले जीविकोपार्जन गरिरहेका छन् । फुर्सदमा गफ गरेर बस्नुभन्दा सुकुटीको व्यापार गर्दा राम्रो आम्दानी गर्न सकिने धरान उपमहानगरपालिका–१५ की दिलकुमारी तामाङले बताएकी छन् । हरेक बिहानको ७ बजे उनी घरबाट निकेतन गल्ली आइसक्छिन्। सोही गल्लीमा सुकुटी बेच्दाबेच्दैँ दिन बित्छ । बिहानदेखि बेलुका ८ः३० बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।  
 
तामाङले बजारबाट दैनिक १५ देखि २० किलो राँगाको मासु किनेर ल्याएर अनि आफैँ सुकुटी बनाउछिन् । त्यसलाई सुकाएपछि बेच्नका लागि तयार हुन्छ । आफूले बनाएको सुकुटी धरानका विभिन्न होटल, रेस्टुरेन्टका साथै भारत, हङ्कङ, बेलायतसम्म पुग्ने गरेको उनले बताईन् । निकेतन गल्लीमा सुकुटी बेच्दैँ भेटिएका उनेले भनिन्, “अलिक मेहनत गर्ने हो भने सुकुटीबाट मनग्ये फाइदा लिन सकिन्छ । धरानको सुकुटी भनेपछि विदेश पठाउनेहरु पनि धेरै आउँछन् ।”
 
तामाङले यसरी सुकुटीको व्यापार गर्न थालेको सात वर्ष बितिसक्यो । यही व्यापारबाट घरपरिवारको जीविकोपाजृन भइरहेको उनले जनाईन् । सुकुटीको व्यापार हेर्दा सजिलो देखिए पनि बनाउन धेरै समय र मेहनत लाग्ने उनको अनुभव छ । मासु सुकाएर सुकुटी बनाउन दाउराको आगो प्रयोग गर्ने गरेको तामाङले बताईन् । पछिल्लो समय दाउरादेखि मासुको मूल्य पनि बढेकाले समस्या हुँदै गएको उनको भनाइ छ । उनले भनिन्, “मेहनतअनुसार कमाइ पनि राम्रै हुन्छ । दुःख गरेको खेर जाँदैन ।”
 
ग्राहकले बजारबाट सुकुटी किनेर घरमा लगेपछि आफ्नो रुचिअनुसार अचार वा तरकारीका रुपमा बनाएर खान सकिने भएकाले मासु पारखीको रोजाइमा पर्ने गरेको तामाङले जनाईन् । उनका अनुसार कतिपय व्यापारीले भने सुकुटीको अचार नै बनाए पनि बिक्री गर्ने गरेका छन् ।  धरान–१५ की बिनिता गिरी सुकुटीसँगै सुकुटीबाटै बनेको अचार पनि बिक्री गर्ने गर्छिन् । उनका अनुसार बजारमा अहिले सुकुटीको मूल्य प्रतिकेजी एक हजार छ सय रुपैयाँ देखि तीन हजार रुपैयाँ सम्म पर्दछ । सुकुटीको गुणस्तरअनुसार मूल्य पनि फरक हुने गरेको उनको भनाइ छ ।
 
सुकुटीको अचार प्रतिकेजी १२ सय रुपैयाँ देखि १६ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको गिरीले बताईन्  । सुकुटीसँगै अचार बिक्री गरेर दैनिक २५ देखि ३५ हजार रुपैयाँको कारोबार गर्दै आएको उनको भनाइ छ । सात वर्षदेखि सुकुटीको व्यापार गरिरहेकी गिरीले भनिन्, “मैले बनाएको सुकुटी धरान, झापा, काठमाडौँदेखि हङ्कङ, बेलायतसम्म पुगेको छ ।”
 
धरानमा तामाङ र गिरी जस्तै सुकुटीको व्यापार गर्ने महिलाको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय पुरुषको तुलनामा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरुले राँगाको मासु किनेर घरमै सुकुटी बनाएर बेच्ने गरेका छन् । सुकुटीको व्यापारका लागि कतिले भानुचोक, निकेतन गल्लीमा पसल सञ्चालन गरेका छन् भने कतिपयले घरबाट पनि बिक्री गर्ने गरेका छन् । 
 
धरानमा सुकुटीको व्यापार गर्ने महिला कति छन् र उनीहरुको कारोबारको स्तर कस्तो छ भन्ने यकीन विवरण पाउन मुस्किल रहेको स्थानीय बताउँछन् । धेरैले व्यक्तिगतरुपमा घरबाटै व्यापार गरिरहेका छन् । बजारमा बिक्री गर्न बसेका सँगको कुराकानीमा दैनिक धरानमा सुकुटीको लाखौँको व्यापार हुने गरेको बताउँछन् । सुकुटीको व्यापार गर्ने दिलकुमारी तामाङले भनिन्, “एउटै पसलबाट २५/३० हजार रुपैयाँको व्यापार हुन्छ । सबैको हिसाब गर्दा त लाखौँ पुग्छ नि ।” 
 
विगतका वर्षहरुको तुलनामा कोरोना महामारीपछि सुकुटीको व्यापार अलि कम भएको व्यापारीको भनाइ छ । व्यापारी गिरीले भनिन्, “बजारमा सुकुटीको माग अलि खस्किए पनि अरु व्यवसाय जस्तो धेरै घटेको छैन । व्यापार गर्ने बढिरहेकाले सुकुटीको व्यापार फस्टाएकै छ ।” -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत २०८०, बिहीबार  १६ : ०४ बजे