विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने


काठमाण्डौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै किन्न बाध्य नगराउन निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु पर्नेछ । विद्यालयहरुले यसविपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा)शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।