पछिल्लो साढे आठ महिनाको अवधिमा जीराको भाउ ५८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा चैतमा भान्सामा प्रयोग हुने अधिकास खाद्यान्नको भाउ घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
चालु आर्थिक वर्षको सुरुवात अर्थात् साउनमा प्रतिकिलो १ हजार २५० रुपैयाँ रहेको जीरा चैतमा प्रतिकिलो ७३० रुपैयाँमा कारोबार भइरहेको छ । दाना जीराको भाउ घटेसँगै धुलो जीराको भाउ पनि घटेको छ । साउनमा प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको धुलो जीरा अहिले ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यी वस्त्ुको मूल्यमा गिरावट
धनियाँ पाउडरको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटेको छ । साउनमा प्रतिकिलो ३७५ रुपैयाँ रहेको धनियाँ पाउडर अहिलो ३५० रुपैयाँमा किनबेच भइरहेको छ । आठ महिनामा गेडा धनियाँको मूल्य भने प्रतिकिलो ६० रुपैयाँ घटेको छ । गत साउनमा ३१० रुपैयाँ रहेको गेडा धनियाँ चैतमा २५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, ज्वानोको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । साउनमा ५०० रुपैयाँ प्रतिकिलो रहेको ज्वानो अहिले प्रतिकिलो ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
उता, मुसुरोको दाल र मुगुको छेडा दाल र डाल्टा घिउ ५/५ रुपैयाँले कमी आएको छ । साउनमा प्रतिकिलो १७० रुपैयाँ रहेको मुसुरोको दाल अहिले १६५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, साउनमा १६५ रुपैयाँ रहेको मुगुको छेडा दाल १६० रुपैयाँमा कारोबार भइएको छ भने साउनमा २१० रुपैयाँ रहेको डाल्टा घिउ अहिले २०५ रुपैयाँमा कायम भएको छ ।
यस्तै, साउनमा प्रतिकिलो २१० रुपैयाँ रहेको कैलो भटमासको मूल्य अहिले १०५ रुपैयाँमा काराबोर भइरहेको छ । यसैगरी, कैलो तिलको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ । साउनान ३४० रुपैयाँ रहेको कैलो तिल अहिले ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यी वस्तुको मूल्य वृद्धि
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाली ध्यूको मूल्य वृद्धि भएको छ । साउनमा प्रतिकेजी १ हजार २०० रुपैयाँ रहेको नेपाली ध्यू अहिले १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली ध्यूको मूल्य २०० रुपैयाँले बढेको हो । यस्तै स्टिम जीरा मसिनो चामलको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षको साउनमा प्रतिकिलो ९५ रुपैयाँ रहेको स्टिम जीरा मसिनो चामलको मूल्य अहिले १०० रुपैयाँ पुगेको छ ।
यता हरियो केराउ ४० रुपैयाँले बढेको छ । साउनमा १८० रुपैयाँमा कारोबार भएको हरियो केराउ अहिले १४० रुपैयाँमा काराबोर भइहरेको छ । सेतो केराउको मूल्य भने प्रतिकिलो ३० रुपैयाँ बढेको छ । साउनमा १६० रुपैयाँ रहेको हरियो केराउ अहिले १३० रुपैयाँमा कारोबार भइरहेको खुद्रा संघले जनाएको छ।
यस्तै, राजमा २० रुपैयाँले बढेको छ । साउनमा २३० रुपैयाँ रहेको राजमा अहिले २५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, छिरकी राजमा र बोडीको भाउ भने १०/१० रुपैयाँले बढेको छ । साउनमा २३० रुपैयाँ रहेको छिरकी राजमा अहिले २२० र साउनमा १६० रुपैयाँ रहेको बोडी अहिले १५० रुपैयाँमा किनबेभ भइरहेको छ ।
यस्तै ताइचिन चिउराको मूल्य १० रुपैयाँ बढेको छ । साउनमा प्रतिकिलो १५० रुपैयाँ रहेको ताइचिन चिउरा अहिले १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, काबुलकाबुल चना, चनमलको पिठो ५ रुपैयाँ बढ्ेको संघले जनाएको छ । साउनमा प्रतिकिलो २२५ रुपैयाँ रहेको काबुलकाबुल चनाको मूल्य अहिले २२० रुपैयाँ पुगेको छ भने साउनमा ८० रुपैयाँ रहेको चामलको पिठो अहिले ८५ रुपैयाँ पुगेको छ ।
यी वस्तुको मूल्य स्थिर
आलु आर्थिक वर्षको आठ महिनाको अवधिमा त्रिशुलीको पोखरेली चामल मकैको पिठो, सुजी, मैदा, आटा, भटमासको तेल, सूर्यमूखी तेल, जौ, मुगु छाटाको मूल्य भने स्थिर रहेको छ ।
यस्तो छ राष्ट्र बैंकको मूल्य सम्बन्धि तथ्यांक
विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ ।
सोहि अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।
त्यस्तै सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया