मोबाइल बैंकिङ प्रयोगकर्ता एक वर्षमै ३७ लाख १८ हजारले बढे, फागुनसम्म २ करोड ३७ लाख धेरै

0
Shares

नेपालमा पछिल्लो एक वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या ३७ लाख १८ हजार १२२ ले बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय ‘लेस क्यास’ नीतिलाई प्राथमिकतामा राखेपछि सोही अनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र विद्युतीय कारोबार पनि बढ्दै गएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार ३८९ जना पुगेका छन् । अघिल्लो वर्षको फागुन मसान्तसम्ममा यस्तो सङ्ख्या २ करोड ६५ हजार २६७ रहेको थियो । चालु आर्थिक वर्षको आठ महीनामा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्यामा २४ लाख १९ हजार ४०० ले बढेको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको आठ महीनाको अवधिमा मोबाइल बैंकिङ मार्फत हुने कारोबार पनि १ खर्ब १३ करोड रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा ५२.२०% ले कारोबार बढेको हो । विसं २०८० फागुन मसान्तसम्ममा कूल २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ बराबरको मोबाइल बैंकिङ कारोबार भएको छ । विसं २०७९ फागुन मसान्तसम्ममा मोबाइल बैंकिङ मार्फत १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । विसं २०७९ असार मसान्तसम्ममा भने मोबाइल बैंकिङ मार्फत १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड ९० लाख रुपैयाँले कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ८ महिनामा इन्टरनेट बैंकिङ्ग प्रयोकर्ता पनि ९५ हजार ८४८ ओटाले बढेर १८ लाख ७४ हजार ९८२ पुगेको छ । यस्तै नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस प्रयोगकर्ता (युजर) पनि १ लाख ९१ हजार ५९१ ओटाले बढेर १२ लाख २८ हजार १४० पुगेको छ । २०८० फागुन मसान्तसम्म इन्टरनेट बैंकिङ्ग मार्फत १४ अर्ब ३३ करोड रुपैयाँ तथा कनेक्ट आईपीएस मार्फत ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बराबरको कारोबार भएको छ । पछिल्लो एक वर्षमा इन्टरनेट बैंकिङ्गको कारोबार ३.३८% र कनेक्ट आईपीएस मार्फत बैंकिङ कारोबार ४२.११% ले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएका विद्युतीय कारोबार यस्तो छः–

  • रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस):– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ
  • एटीएमबाट झिकिएको नगदः– ८८ अर्ब ७ करोड रुपैयाँ
  • इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी):– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ
  • आईपीएसः– १ खर्ब ८८ अर्ब १६ करोड ६० लाख रुपैयाँ
  • कनेक्ट आईपीएसः– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ
  • डेविट कार्डः– ९१ अर्ब ४८ करोड रुपैयाँ
  • क्रेडिट कार्डः– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ
  • प्रिपेड कार्डः– ६१ करोड ९० लाख रुपैयाँ
  • इन्टरनेट बैंकिङ्गः– १४ अर्ब ३३ करोड रुपैयाँ
  • मोबाइल बैंकिङ कारोबारः– २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ
  • ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ
  • वालेट– २४ अर्ब २ करोड रुपैयाँ
  • क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ
  • पोइन्ट अफ सेल्स (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ
  • ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।