फागुनसम्म पाँच फाइनान्स घाटामा, बाह्रले ५६ करोड बढी कमाए

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को आठ महीना अर्थात फागुन मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त १७ वित्त (फाइनान्स) कम्पनीमध्ये ५ फाइनान्स कम्पनीले नोक्सानी ब्यहोर्दा १२ ओटा नाफामा रहेका छन् ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण नयाँ कर्जाको मागमा आएको कमी र प्रवाहित ऋण समयमा नै असुली हुन नसक्दा प्रोभिजनका कारण वित्त कम्पनीहरुको मुनाफामा असर देखिएको हो । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार पाँच फाइनान्स कम्पनीले ३० करोड ३ लाख २० हजार नोक्सानी ब्यहोरेका हुन् । अघिल्लो महीना माघसम्म ६ ओटा फाइनान्सले ४० करोड ३९ लाख ५० हजार रुपैयाँ नोक्सानी ब्यहोरेका थिए ।

फागुन मसान्तसम्म १२ ओटा फाइनान्स कम्पनीको नाफा ५६ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको छ । माघसम्म ४६ करोड १५ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए । माघमा समग्रमा फाइनान्सहरुको नाफा ५ करोड ७६ लाख १० हजार रुपैयाँ रहेकोमा फागुनमा बढेर २६ करोड ३ लाख २० हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको आठ महीना अवधिमा सबैभन्दा धेरै घाटामा रहेको प्रोगेशिभ फाइनान्स कम्पनीले ११ करोड ३ लाख १० हजार नोक्सानी ब्यहोरेको छ । माघभन्दा फागुनमा कम्पनीको नोक्सानी करिब २ करोडले सुधारिएको हो । यस्तै यस अवधिमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ५ करोड ९१ लाख ८० हजार छ । गत माघमा कम्पनीको नोक्सानी ६ करोड ५७ लाख ६० हजार रुपैयाँ थियो ।

यसैगरी माघमा ४ करोड ६३ लाख रुपैयाँ नोक्सानीमा रहेको रिलायन्स फाइनान्सको नोक्सानी घटेर ४ करोड ३८ लाख ४० हजारमा र समृद्धि फाइनान्सको नोक्सानी ३ करोड ११ लाख ५० हजारबाट बढेर ४ करोड ६२ लाख ४० हजार पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । साथै सेन्ट्रल फाइनान्सको नोक्सानी माघमा ४ करोड १० लाख १० हजार रुपैयाँ रहेकोमा फागुन मसान्तमा आइपुग्दा ४ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।

S.N. Sector- Finance Profit Till Falgun end 2080 (in Million)
1 Manjushree Finance Ltd. 162.22
2 Gurkhas Finance Ltd. 135.74
3 ICFC Finance Limited 84.64
4 Goodwill Finance Co. Ltd. 30.38
5 Pokhara Finance Ltd. 27.63
6 Shree Investment Finance Co. Ltd. 27.04
7 Nepal share market Limited 21.25
8 Multipurpose Finance Company Limited 20.11
9 Capital Merchant banking & Finance 16.25
10 Janaki Finance Ltd. 14.87
11 Nepal Finance Ltd. 13.61
12 Best Finance Company Ltd. 6.90
13 Central Finance Co. Ltd. -40.75
14 Reliance Finance Ltd. -43.84
15 Samriddhi Finance Ltd. -46.24
16 Guheshowori Merchant Bank & Finance -59.18
17 Progressive Finance Limited -110.31
Total 260.32

 

माघ मसान्तमसम्ममा ८ लाख ४० हजार रुपैयाँ नोक्सानीमा रहेको नेपाल फाइनान्स फागुन मसान्तसम्म आइपुग्दा १ करोड ३६ लाख १० हजार रुपैयाा नाफा आर्जन गर्न सफल भएको छ । यस्तै सबैभन्दा कम नाफा रहेको बेष्ट फाइनान्सले फागुनसम्म ६९ लाख रुपैयाँ नाफा गरेको छ । माघ मसान्तसम्ममा बेष्ट फाइनान्सले ८० लाख ३० हजार रुपैयाँ कमाएको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार बाह्र फाइनान्स कम्पनीले साउनदेखि फागुन मसान्तसम्ममा ५६ करोड ६ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । मञ्जुश्री फाइनान्स नाफामा ‘नम्बर वान’ रहँदै शीर्ष स्थानमा रहेको छ । सबैभन्दा धेरै नाफा कमाएको यस फाइनान्सले फागुन मसान्तसम्ममा १६ करोड २२ लाख २० हजार आर्जन गरेको छ । गत माघसम्म १२ करोड ८३ लाख १० हजार रुपैयाँ नाफा कमाएको गोर्खाज फाइनान्सले फागुन मसान्तसम्ममा १३ करोड ५७ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

यसैगरी गोर्खाज फाइनान्सलाई पच्छाउँदै आईसिएफसि फाइनान्सले ८ करोड ४६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ भने गुडविल फाइनान्सको नाफा ३ करोड ३ लाख ८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा पोखरा फाइनान्स, नेपाल सेयर मार्केट लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड माथि नाफा कमाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यसअवधिमा पोखरा फाइनान्सले २ करोड ७६ लाख ३० हजार रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्स २ करोड ७० लाख ४० हजार रुपैयाँ र नेपाल सेयर मार्केटले २ करोड १२ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी मल्टिपर्पस फाइनान्सको नाफा २ करोड १ लाख १० हजार रुपैयाँ, राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी शीघ्र सुधारात्मक प्रकृयामा रहेको क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीले १ करोड ६२ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै तथ्याङ्क अनुसार जानकी फाइनान्सको नाफा १ करोड ४८ लाख ७० हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।