बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति झनै बढ्न थालेको छ। कर्जाहरुको ‘डिफल्ट रेट’ बढेसंगै गैर बैंकिङ सम्पत्ति झनै बढेको हो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो सकारेर गैर बैंकिङ सम्पत्तिमा परिवर्तन गर्छन । पछिल्लो समयमा कोरोना महामारीको असर तथा अर्थतन्त्रमा आएको मन्दीका कारण ऋणीले कर्जा तिर्न नसकेपछि बैंकहरु धितो सकार गर्न बाध्य छन् । तर, धितो सकार गर्दा पनि बैंकहरुले राख्न पाउने जग्गाको सीमाका कारण अफठ्यारो परेको गुनासो उनीहरुको छ । बैंकहरुले जग्गा राख्न पाउने सीमा नभएको खण्डमा गैर बैंकिङ सम्पत्ति अहिलेको भन्दा अझै बढ्ने बैंकरहरुको भनाई छ ।
चालु आर्थिक वर्षको माघ महिनामा ७ करोड २० लाख रुपैयाँ बरावरको गैर बैंकिङ सम्पत्ति रहेकोमा फागुन महिनामा बढेर १८ करोड ४० लाख बराबरको थपिएको छ । फागुन महिनाको अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाको कूल गैर बैंकिङ सम्पत्ति २३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बरावरको पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले यसरी धितो सकार गरेर कर्जालाई सेटल गर्न अपलेखन गर्न सक्छन । तर, कर्जा अपलेखन गर्नका लागि भने भाखा नाघेको ५ वर्ष भन्दा धेरै समय वितेको हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सो अनुसार चालु आवको फागुन महिनामा बैंक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँ बरावरको मात्रै कर्जा अपलेखन गरेका छन् ।
फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन कुल एक अर्ब ७१ करोड ८० लाख रुपैयाँ बरावरको भएको केन्द्रीय बैंकले जनाएको छ । साथै बैंकहरुले फागुन महिनामा कर्जा अपलेखनबाट हुने आम्दानी स्थिर अर्थात माघ महिनामा जति थियो त्यती नै रहेको छ । माघ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखनबाट भएको फिर्ता रकम ८ करोड १० लाख थियो ।
तर, जोखिम व्यवस्थाबाट भएको फिर्ता भने बढेको छ । चालु आवको माघ महिनामा बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थाबाट फिर्ता पाएको रकम २३ अर्ब ८३ करोड रहेको थियो । उक्त रकम फागुन महिनामा एक अर्ब ७७ करोडले बढेर २४ अर्ब ६० करोड ९० लाख रुपैयाँ पु्गेको छ ।
जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश २०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले १५० रोपनीसम्म जग्गा आफ्नो नाममा राख्न पाउने व्यवस्था छ । पछिल्लो समयमा बढेको कर्जा ‘डिफल्ट रेट’का कारण बैंकहरुलाई उक्त सीमा पनि थोरै भयो । साथै बैंकिङ क्षेत्रको बारेमा गरिएको गलत प्रचारका कारणले पनि ऋण असुली, धितो सकार तथा अपलेखनमा जटिलता थपिएको एक बैंकरले बताए । “खराब कर्जा बढ्ने क्रम रोकिएको छैन,” ती बैंकरले भने,“कर्जा उठाउने प्रक्रिया अघि बढाउदा जग्गाको सीमा तथा गलत प्रचारका कारण सम्बन्धीत निकायहरुबाट समेत सहयोग नपाउदा प्रभावित भएको छ ।”
चालु आवको फागुनमा बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था पनि झनै बढेको छ । बैंकहरुको कर्जा नोक्सानी बढ्नु भनेको डिफल्ट हुने क्रममा अझै सुधार आउने नसकेको स्पष्ट हुन्छ। चालु आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्था वापत ५५ अर्ब ८० रुपैयाँ छुट्याएका छन् । यो रकम चालु आवको माघ महिनाको तुलनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँले बढेको हो । माघ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था बापत ५३ अर्ब ६८ करोड ७० लाख रुपैयाँ छुट्याएका छन् ।
ऋणीले कर्जा समयमा नतिर्ने क्रम बढेसंगै बैंक तथा वित्तीय संस्थाले नोक्सानी व्यवस्था बढाउदै गएको अवस्था छ । तर, कर्जा असुलीमा भने कानुनी तथा प्रक्रियागत अबरोधका कारण चाहे अनुसार बढाउन सकेका छैनन । त्यसले गर्दा पनि बैंकहरुको आम्दानीमा असर गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया