जिल्ला प्रहरी परिसर काठमाण्डौं का प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उहाँले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।
“ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ”, उनले भने ।
परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाण्डौं प्रहरीले काम गरिरहेको उल्लेख गरे । चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाण्डौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै, लागूऔषध दुव्यर्सनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।
काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरु कालोपत्र गरिसक्ने बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गरे ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए । उनले समाजमा हुने लागूऔषध दुर्व्यसनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरे ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागूऔषध दुर्व्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाजसँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए
।
नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाह, न्यूटन उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले भोलिका दिनमा देश विकासको जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागूऔषध दुर्व्यसनी र साइबर अपराधसँग टाढा रहन आग्रह गरेका थिए । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया