गलत प्रचारले ऋण असुलीमा समस्या, बैंक भन्दा ऋणी शक्तिसाली

0
Shares

बैंक तथा वित्तीय संस्था विरुद्ध भएका गतिविधि र गलत प्रचारले कर्जा असुलीमा समस्या देखिएको छ । आम जनमानसमा ऋणी भन्दा पनि बैंकहरु नै गलत भएको भन्ने भास्यले गर्दा पछिल्लो समय कर्जा उठाउन जटिल भएको हो ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तान समयमा हुन सकेन । समयमा कर्जा भुक्तानी हुन नसकेपछि कर्जा डिफल्ट हुने क्रम बढ्यो । ऋणीले समयमा कर्जा भुक्तानी नगरेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा उठाउन धितो बिक्री गर्ने तथा कर्जा अपलेखन गर्ने काम गर्न बाध्य भए । तर, बैंकहरुले धितो बिक्री गरेर कर्जा असुली गर्न पनि जटिल भएको एक बैंकरले बताए ।

“बैंक तथा वित्तीय संस्था विरुद्ध गरीएको गलत प्रचारले कर्जा असुलीमा समस्या देखिएको छ,” ती बैंकरले भने,“बैंक गलत हुन भन्ने भास्य बनाइएका कारण धितो लिलाम बिक्री गर्न समेत सकिएको छैन ।” बैंकहरुले कर्जा असुलीका लागि धितो लिलाम गर्ने प्रक्रिया अघि बढाउँदा पनि बैंकलाई गलत देखाउदै प्रक्रिया पुरा हुन नदिएको अवस्था रहेको ती बैंकरले बताए ।

चालु आर्थिक वर्षको फागुन महिनाको तथ्याङक हेर्दा पनि बैंकहरुले धितो सकार्ने तथा कर्जा अपलेखन गर्ने र अपलेखनबाट हुने रिकभरीमा समेत खासै सुधार आउन सकेको छैन । अर्थतन्त्रमा देखिएको समस्याका कारण ऋणीको आम्दानीमा कमी आई समयमा कर्जाको सावाँ ब्याज भुक्तानी गर्न सकेनन । ऋणीले सावा ब्याज तिर्न नसकेपछि कायम भएको खराब कर्जालाई सेटल गर्न बैंकहरुले धितो सकार गर्ने र अपलेखन गर्ने गर्छन ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा ७ करोड २० ले रुपैयाँ बरावरको गैर बैंकिङ सम्पत्ति रहेकोमा फागुन महिनामा बढेर १८ करोड ४० लाख बराबर थप भइ कुल गैर बैंकिङ सम्पत्ति २३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ बरावरको पुगेको छ । फागुन महिनामा बैंक तथा वित्तीय संस्थाले २० लाख रुपैयाँ बरावरको मात्रै कर्जा अपलेखन गरेका छन् ।

फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन कुल एक अर्ब ७१ करोड ८० लाख रुपैयाँ बरावरको भएको केन्द्रीय बैंकले जनाएको छ । साथै बैंकहरुले फागुन महिनामा कर्जा अपलेखनबाट हुने आम्दानी स्थिर अर्थात माघ महिनामा जति थियो त्यतीनै रहेको छ । केन्द्रीय बैंकको तथ्याङकलाई हेर्दा पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई प्राथमिकतामा राखेको भएपनि सो अनुसार काम गर्न नसकेको स्पष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो समयमा कर्जाको डिफल्ट रेट बढ्न थालेपछि लगानी विस्तार भन्दा पनि कर्जा असुलीमा ध्यान दिएका छन । बैंकहरुले कर्जा असुलीमा ध्यान दिएको भएपनि गलत प्रचारका कारण ऋणीलाई जोगाउने र बैंकलाई अफठ्यारोमा पार्ने क्रियाकलाप बढ्दै गएको ती बैंकरले बताए । राज्यका संरचनाले समेत ऋणीलाई जोगाउने र बैंकलाई दोषि बनाउने काम भएको उनको भनाई छ ।

बैंकले कर्जा असुलीका लागि धितो लिलाम गर्ने तथा बिक्री नभएमा सकार गर्ने काम गर्न खोज्दा समेत सरकारी संयन्त्रण्बाट सहयोग नमिलेको उनको भनाई छ । धितो सकार गर्नका लागि मन्त्रालय धाउनु पर्ने र मन्त्रालय धाउदा समेत उक्त काम नहुने समस्या देखिएको ती बैंकरले बताए । बैंकले सबै प्रक्रिया पुरा गर्दा सम्म ऋणी शक्तिकेन्द्र धाउने र राज्यका संयन्त्रलाई प्रभावमा लिन समेत बैंक विरोधी पछिल्ला गतिविधिले सहयोग पुग्दा कर्जा असुलीमा समस्या पैदा भएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।