आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण


एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ ।

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जिडिपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ ।

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर पाँच दशमलव आठ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा जिडिपी वृद्धि छ दशमलव छ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ ।

यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ । मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ ।

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर छ प्रतिशत गरेपछि एडिबीको अनुमान आएको हो । आइएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि छ दशमलव पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।