पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ५६ करोड रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको बताउँदै भने, “जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ । सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ ।”
नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबर रुपैयाँका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । आव २०७८\७९ मा २३ करोड ४९ लाख २१ हजार एक सय ४५ रुपैयाँ पर्ने सामान नियन्त्रणमा लिइएको थियो । आव २०७९\८० मा ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ रुपैयाँ बराबरका सामान बरामद भएको थियो ।
प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए । दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेकोे बताए । सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहका छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया