चिया र कफीको निर्यात २.१९ गुणाले घट्यो, बजारीकरणको समस्याले खेतीबाट पलायन हुँदै किसान


चिया र कफीको निर्यात २.१९ गुणाले घटेको छ । चालु आर्थिक वर्ष (२०८०/८१)को आठ महिनामा २ अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको ९८ लाख ४९ हजार २८९ किलो चिया र कफी निर्यात भएको छ । जुन गत आथिक वर्षको तुलनामा २.१९ गुणाले कम हो ।

गत आर्थिक वर्ष (२०७९\८०)मा ५ अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ७ हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो ।

सरकारले बजारीकरणमा ध्यान नदिदा चिया तथा कफी निर्यात बढाउन नसकिएको नेपाल टि एसोसियशनका अध्यक्ष कलम मैनाली बताउँछन् । सरकारले अर्गानिक सटिफिकेशन गराउन सहयोग गर्नुपर्ने बताउँदै उनले भने, “नेपालमा उत्पादित चियालाई विभिन्न देशमा पठाउन सहयोग गर्नुपर्छ । व्यवसायीलाई अरु देशमा हुने मेलामा सहभागी हुनको लागि सहयोग गर्नुपर्छ ।”

नेपालबाट अमेरिका, अष्ट्रेलिया, जर्मन लगायतका देशमा चिया निर्यात हुने गरेको छ । तर, अहिले यी देशहरुमा पनि अर्गानिक सटिफिकेशन, आईएशओ, फियर टे«ड सटिफाइ लगायतका सटिफिकेट खोज्ने भएकोले निर्यातमा कठिनाइ भएको अध्यक्ष मैनालीको भनाइ छ । नेपाली चिया विश्वका ३४ वटा देशमा निर्यात हुने छ। अधिकांश चिया भने भारतीय बजारमा बिक्री हुने गरेको छ।

अहिलेसम्म सरकारले चिया उत्पादन केही पनि सहयोग नगरेको गुनासो गर्दै उनले भने,“यहाँबाट जर्मनको चिया मेलामा भाग लिनु पर्यो भने १५ लाख रुपैयाँ लाग्छ । त्यो सरकारको सहयोग बिना एक्लो उद्यमीले गर्न सम्भव छैन।”

उनले सरकारले नेपालका चिया व्यवसायीलाई बाह्य मूलुकमा गएर चिया बिक्री गर्नको लागि हवाई टिकटमा सुविधा दिन माग गरेका छन् । अहिले नेपालमा रहेका अधिकांश उद्योगहरु घाटामा रहेको बताउँदै अध्यक्ष तथा व्यवसायी मैनालीले अब चिया व्यवसाय नै धरासायी अवस्थामा रहेको बताए । नेपालमा सीटिसी चिया २ करोड २० लाख किलो उत्पादन हुने गरेको छ भने पहाडको अर्थडक्सीया भने ६० दाख किलो उत्पादन हुने गरेको छ ।
उता, कफीको उत्पादनले भने नेपालको कुल मागको २५ प्रतिशत पनि धान्ने अवस्थामा नरहेको उनी बताउँछन् ।

के भन्छ सरकार ?

कफी उत्पादनको लागि क्षेत्र विकास हुँदै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमिक्त कार्यकारी निर्देशक तथा सूचना अधिकारी दिपक खनाल बताउँछन् । अहिले पूर्वका १८ जिल्लामा चिया खेती गरिएको पश्चिममा ३ वटा जिल्ला र संखवासभा, सिन्धुली र भोजपुर तिर पनि चिया खेती विस्तार गरिरहेको उनको भनाइ छ ।

उनले चिया खेतीमा स्थानिय र प्रदेश सरकारले पनि जोड दिए उत्पादनलाई वृद्धि गर्न सकिने बताए । चिया र कफी खेतीमा सरकारले मात्रै पहल गरेर हुँदैन उनले भने, “स्थानिय तहले नै यसको उत्पादनमा वृद्धि गर्ने किसिमले पहल गर्नुपर्छ अजी मात्र उत्पादन बढाउन सकिन्छ ।”

कार्यकारी निर्देशक खनालले कफी उत्पादन प्रोसाहनको लागि ५० प्रतिशत अनुदान दिएको बताउँदै प्रस्तावित बजेटमा कफी उत्पादनको लागि एक स्थानिय तहलाई ३० रोपनी जग्गा उपलब्ध गराउन भनेको जिकीर गरे ।

यस्तै, उनले चिया र कफी खेतीको लागि व्रतिवर्ष ५ करोड रुपैयाँ उपलब्ध हुने गरेको बताउाँदै उनले भने, “पाँच करोड मात्रले चिया र कफीको व्यपस्थापकमा समस्या हुन्छ ।” चिया उत्पादनको ४७ देखि ५० प्रतिशतसम्म नेपालमा नै खपत हुने गरेको र बाँकी रहेको चिया मात्र अन्य देशहरुमा निर्यात गर्ने गरिएको उनको भनाइ छ ।

२३ हजार हेक्टर क्षेत्रफलमा लगाइन्छ चिया र कफी

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको पछिल्लो तथ्यांक अनुसार (२०२२\२३) सम्ममा नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करिब २ करोड ६३ लाख ७९ हजार ४९३ किलो चिया र ३ हजार ६५८ हेक्टर जमीनमा ३९४.४ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ ।

नेपालमा सबैभन्दा धेरै चिया झापामा उत्पादन हुने गरेको छ । झापामा १० हजार ३४० हेक्टर क्षेत्रफलमा १ करोड ९९ लाख ९ हजार ५०० केजी चिया उत्पादन हुने गरेको छ ।

झापापछि सबैभन्दा धेरै चिया उत्पादन हुने जिल्ला इलाम हो । इलाममा सात हजार २२६ हेक्टर क्षेत्रफलमा ६२ लाख ८२ हजार १० किलो चिया उत्पादन भएको छ।

यसैगरी, इलाम पछि सबैभन्दा धेरै उत्पादन हुने जिल्ला पाँचथर हो । पाँचथरमा ६७५ हेक्टर जमीनमा ५८ हजार ५३७ केजी चिया उत्पादन हुने गरेको छ । यस्तै, सबैभन्दा धेरै कफी उत्पादन हुने जिल्ला काभ्रेपलाञ्चोक हो । काभ्रेपलाञ्चोकमा २९२ हेक्टर जमिनमा ४३ मेट्रिक टन कफी उत्पादन भएको छ ।
काभ्रेपलाञ्चोक पछि सबैभन्दा धेरै कफी उत्पादन हुने जिल्ला नुवाकोट हो ।

नुवाकोटमा २४२ हेक्टर क्षेत्रफलमा ३७.२ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ । यस्तै नुवाकोट पछि सबैभन्दा धेरै कफी उत्पादन हुने जिल्ला कास्की हो । कास्कीमा १९७ हेक्टर क्षेत्रफलमा १९.३ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ । नेपालमा कफीका ३१ हजार ३८९ वटा साना उद्योग सञ्चालनमा छन् चियाका १५ हजार १८० उद्योग सञ्चालनमा रहेका छन् ।

यस्तो छ चिया आयात र निर्यातको अवस्था

चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट २ खर्ब ४६ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ९८ लाख २३ हजार २४१ किलो चिया निर्यात भएको छ भने सोही अवधिमा बाहिरी मुलुकहरुबाट ७ करोड ८८ लाख ९३ हजार रुपैयाँ बराबरको १ लाख ४६ हजार ७०५ किलो चिया आयात भएको छ ।

यस्तै आठ महिनामा नेपालबाट ४ करोड २९ लाख ९० हजार रुपैयाँ बराबरको २६ हजार ३८ केजी कफी निर्यात गरेको छ भने १ अर्ब १३ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको ९ लाख ६९ हजार ७८२ केजी कफी आयात गरेको छ ।

चिया र कफी आयातबाट सरकारले ६४ करोड ५८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । नेपालबाट अस्ट्रेलिया, फ्रान्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।