आयातमा पाँच भन्सारको ८२% धेरै हिस्सा, दर्जन नाकाबाट निर्यात शुन्य

0
Shares

देशभर सञ्चालनमा रहेका दुई दर्जन भन्दा बढी भन्सार नाकाहरुमध्ये ५ वटा नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुँदै आएको छ । देशभित्र सञ्चालनमा रहेका कुल २९ नाकामध्ये मुख्य ५ नाकाबाट मात्रै ८२.६८ प्रतिशत आयात र ८७.९५ प्रतिशत निर्यात हुने गरेको छ ।

भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०—८१ को ९ महीना अर्थात साउनदेखि चैतसम्मको अवधिमा वीरगञ्ज, भैरहवा, वीरगञ्जको ड्राइपोर्ट, विराटनगर तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गरी यी मुख्य ५ नाकाबाट सबैभन्दा बढी वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुनेमा वीरगञ्ज नाका पहिलो नम्बरमा रहेको छ । यो नाकाबाट कुल आयातको ३४.४५ प्रतिशत आयात तथा कुल निर्यातको १९.८६ निर्यात भएको छ । सबैभन्दा धेरै सामानहरु आयात निर्यात भएको भन्सार नाका वीरगञ्जबाट गएको ९ महीनाको अवधिमा ४ खर्ब २ अर्ब १० करोड ३२ लाख रुपैयाँ बराबरको मालवस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३४.४५ प्रतिशत हो । यस नाकाबाट सो अवधिमा कुल २२ अर्ब ६३ करोड रुपैयाँ बराबरको मालवस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको १९.८६ प्रतिशत हो ।

त्यसैगरी वीरगञ्ज नाकापछि सबैभन्दा धेरै मालवस्तु तथा सामान आयात निर्यात हुने भैरहवा भान्सार नाका रहेको छ । यस नाकाबाट चालु आवको चैत मसान्तसम्ममा १ खर्ब ७७ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको मालवस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १५.२२ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट १० अर्ब २२ करोड ८० लाख रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ८.९८ प्रतिशत हो । यो नाका निर्यात हुने नाकामध्ये पाँचौं र आयातमा दोस्रो स्थानमा छ ।

भन्सार विभागको अनुसार वस्तु तथा सामान आयात निर्यात हुने तेस्रो नाकामा भैरहवा ड्राईपोट पनि हो । यस नाकाबाट गएको ९ महीनाको अवधिमा १ खर्ब ५६ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको मालवस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १३.३८ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ३ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ३.०८ प्रतिशत हो ।

विभागको अनुसार मालवस्तु आयातमा विराटनगर नाका चौंथो र निर्यातमा दोस्रो स्थानमा छ । यस नाकाबाट ९ महीनाको अवधिमा १ खर्ब २६ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ बराबर रकमको मालवस्तु आयात भएको छ । यो कुल आयातको १०.८५ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट २२ अर्ब १५ करोड ६८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यो कुल निर्यातको २०.३२ प्रतिशत हो ।

यसैगरी सामान आयात निर्यात हुने अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल रहेको छ । यस नाकाबाट चालु आवको चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । यो कुल आयातको ८.७९ प्रतिशत हो । सो अवधिमा यस भन्सार नाकाबाट २५ अर्ब ६० करोड ८० लाख रुपैयाँ बराबर रकमको मालसामान निर्यात भएको छ । यो कुल निर्यातको २२.४७ प्रतिशत हो । निर्याततर्फ त्रिभुवन विमानस्थल पहिलो नम्बरमा रहेको छ ।

चालु आवको ९ महीना अवधिमा निर्यातमा मेची भन्साल कार्यालय चौथो स्थानमा रहेको छ । सो नाकाबाट चैत मसान्तसम्ममा कुल निर्यातको १६.३१ प्रतिशत अर्थात १८ अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । चैत मसान्तसम्म वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) बाट ३ अर्ब ५० करोड ६८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको ३.०८ प्रतिशत बराबर हो । जलेश्वर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र सर्लाही नाकाबाट अधिकतम ३ अर्ब ३७ करोडदेखि एक अर्ब रुपैयाँसम्मको निर्यात भएको छ ।

भन्सार विभागको अनुसार गएको ९ महीना समयअवधिमा ५ भन्सार नाकाबाट उच्च आयात भएको छ भने १२ भन्सार नाकाबाट भने शुन्य निर्यात भएको जनाएको छ । झापाको भद्रपुर, काठमाण्डौंको चोभार, भैरहवाको गौतम बुद्ध विमानस्थल, जनकपुर, महेशपुर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, राजबिराज, सिराहा, सुनसरी, थाडी, त्रिवेणी र सुथौली भन्सार नाकाहरुबाट भने शुन्य निर्यात भएको भन्सार विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।