पुल निर्माणमा ढिलाइ, उपभोग्य सामान ओसारपसार गर्न समस्या


बागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन । बडिगाड गाउँपालिका–७ भिमगिठे बजार र मालारानी गाउँ जोड्ने गरी २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो ।

हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । विसं २०७९ फागुनमा निर्माण सक्ने सम्झौता भए पनि दुई पटक म्याद थप गरिएको छ । पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । पुल दुई वर्ष चार महिनामा सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिएको थियो । पुल नबन्दा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्न समस्या भएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि बडिगाडखोला तरेपछि मात्रै मालरानी गाउँ पुग्न सकिन्छ । हिउँदको समयमा जसोतसो गाडी तरे पनि बर्खाको पाँच महिना यातायात ठप्प हुने स्थानीय मीनबहादुर खत्रीले बताए । बडिगाडखोलामा हिउँदमा पानीको मात्रा अत्यधिक हुन्छ । यातायातका साधन वारपार गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पुल बन्न नसकेको खत्री बताउँछन्। गाडी नचल्दा स्थानीयले झोलुङ्गे पुलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु¥याउने गरेका छन् । “बर्खामा गाडी चल्दैनन्, गाउँमा सामान बोकेरै ल्याउनुपर्छ, बिरामी बोकेर अस्पताल लैजानुपर्छ,” खत्रीले भने ।

पुल निर्माण गर्न दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिए । असार मसान्तसम्म सक्ने गरी कामदार लगाएर धमाधम काम गरिरहेको उनको भनाइ छ । पुल सात करोड ६६ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।