निगमको न्यारोबडी जहाज आज काठमाडौँ आइपुग्ने

0
Shares

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिए।

उनका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) सोमबार काठमाडौँ आइपुग्ने छ । “न्यारोबडी जहाज ग्राउन्डेड भएको विषय मेरो जानकारीमा थियो । इन्जिन मर्मतका लागि जहाज इजरायल पठाउँदा निगमलाई दैनिक घाटा बढ्दै गएपछि मैले तत्काल इन्जिन बनाएर ल्याउन ताकेता गरेको थिएँ । जहाज मर्मत भएर आएपछि समस्या समाधान हुने विश्वास लिएको छु,” उनले भने । विभिन्न प्राविधिक समस्याका कारण जहाज समयमा मर्मत भएर आउन नसकेको भन्दै उनले इजरायलको कम्पनीले समयमा जहाजको इन्जिन मर्मत गर्न नसकेकाले तत्काल क्षतिपूर्ति माग दाबी गरिने जानकारी दिए।

सो जहाजको दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो । जहाज मर्मतसम्भारका लागि इजरायलको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) सँग निगमको सम्झौता भएको थियो ।

जहाजको कुनै एक इन्जिनमा समस्या आएको एक साताभित्र विकल्पमा अर्को इन्जिन व्यवस्था गर्ने अथवा बिग्रेको इन्जिन ६५ दिनभित्र मर्मत गरेर हस्तान्तरण गनुपर्ने व्यवस्था आइएआईसँग भएको सम्झौतामा उल्लेख छ । यसो हुन नसक्दा निगमको घाटा बढेकोलगायतका कारण देखाउँदै निगमले क्षतिपूर्ति माग गर्ने जनाएको छ ।

जहाज नेपाल फर्काउन निगमका वरिष्ठ पाइलट नृपेन्द्र भट्टराई, अरविन्दराज पहारीलगायतको चालक दल इजरायलको तेलअबिब पुगिसकेको छ । उक्त जहाज तेलअबिब–दुबई हुँदै काठमाडौँ आउन लागेको हो ।

लामो समयदेखि ग्राउन्डेड जहाज तालिका अनुसार सञ्चालनमा आउन नसक्दा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दा करोडौँ रुपियाँ आम्दानी गुम्दै आएको निगमको दाबी छ । उडान कटौती हुँदा भारतको दिल्ली, मुम्बई, बेङलुरुलगायत गन्तव्यमा जाने यात्रुले विदेशी वायुसेवाको प्रयोग गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।