हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ


हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए ।

विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

सो केन्द्रले जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ । पाँच सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको पावर हाउसले पानीको मात्राअनुसार न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ ।

अहिले भने दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुने गरेको वितरण केन्द्रले जनाएको छ । लोडसेडिङको समय घटाएपछि वितरण केन्द्रको पहुँच क्षेत्रका तीन हजारभन्दा बढी उपभोक्तालाई दैनिक सेवा प्रवाहमा सहज भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।