बैंकहरुको कोषको लागत एक प्रतिशत विन्दुले घट्यो, मुद्दत्ती निक्षेप धेरै हुँदा लागत घट्ने क्रम सुस्त

0
Shares

बैंकहरुले निक्षेपको ब्याजदर घटाए अनुसार कोषको लागत घट्न सकेको छैन । चालु आवको चैतसम्ममा मुद्दत्ती निक्षेपको औसत ब्याजदर उच्च दरमा घटेको भएपनि कोषको लागत नघटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार अन्तिमसम्ममा बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका थिए । व्यक्तिगत मुद्दत्ती निक्षेपको ब्याजदर चैतसम्ममा आइपुग्दा औसत ब्याजदर ७.२५ प्रशितमा झरेको छ । तर, बैंकहरुले निक्षेपको ब्याजदर घटाएको अनुपातमा भने कोषको लागत घट्न सकेको छैन।

बैंकहरुमा चल्ती बचत र मुद्दत्ती निक्षेप हुन्छ । त्यसमा मुद्दत्ति निक्षेपको हिस्सा धेरै रहदै आएको छ । मुद्दत्ती निक्षेपको अंशसंगै ब्याजदर पनि बढी हुने भएकाले त्यसको असर बैंकहरुको दिर्घकालिन लागतमा पर्छ । गत असारमा बैंकहरुको कुल निक्षेपमा मुद्दत्ती निक्षेपको हिस्सा ५६.९८ प्रतिशत रहेकोमा २०८० फागुन महिनासम्ममा आइपुग्दा ५७.१८ प्रतिशत पुगेको छ । त्यसले गर्दा पनि निक्षेपको ब्याजदर घटेको अनुपातमा कोषको लागत नघटेको हो । गत असारमा बैंकहरुको कोषको औसत लागत ७.८३२५ प्रतिशत रहेकोमा २०८० चैतसम्ममा आइपुग्दा सामान्य घटेर ६.६०३५ प्रतिशतमा झरेको छ ।

त्रैमसिक रुपमा हेर्दा पनि बैंकहरुको कोषको औसत लागत हेर्दा चालु आवको पहिलो त्रैमास अर्थात असोजमा ०.०३९ प्रतिशत विन्दुले बढेको थियो भने पुससम्म आइपुग्दाँ ०.५१८ प्रतिशत विन्दुले घटेको छ । त्यसैगरी चौतमा आउँदा पुसको तुलनामा ०.७५ प्रतिशत बिन्दुले घटेर ६.६०३५ प्रतिशतमा झरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको आवधि अर्थात साउन देखि चैतसम्ममा बैंकहरुको औसत आधार ब्याजदर १.४६९ प्रतिशत विन्दुले घटेको छ । गत असारमा बैंकहरुको औसत आधार ब्याजदर १०.०८०५ प्रतिशत रहेकोमा २०८० चौतसम्ममा आइपुग्दा घटेर ८.६११५ प्रतिशतमा झरेको छ ।

बैंकहरुले निक्षेपको ब्याजदर तत्कालन घटाउन सक्ने भएपनि कर्जाको ब्याजदर तथा कोषको लागत घटाउन मुद्दत्ती निक्षेपको हिस्सा र अवधिले असर गर्छ । मुद्दत्ती निक्षेपको ब्याजदर फिक्स हुने भएकाले तोकिएको अवधिसम्म दिनैपर्ने हुन्छ । त्यसले बैंकहरुको लागतमा असर गर्छ । निक्षेपको ब्याजदर घटेपनि विगतको मुद्दत्ती निक्षेपका कारण लागत काम नहुने अवस्था रहन्छ ।

बैंकहरुले बैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । बैशाखमा बैंकहरुको निक्षेपको औसत ब्याजदर ७.०७ प्रतिशत कायम भएको छ । बैंकहरुको विगतको मुद्दत्ती निक्षेप परिपक्क भएपछि मात्र अहिले घटेको ब्याजदरको असर कोषको लागतमा पर्न थाल्ने एक बैंकरले बताए । बैंकहरुको कोषको लागत भनेको निक्षेपमा तिर्ने खर्च रहेको बताउँदै ती बैंकरले भने,“आधार दर कर्जाको ब्याजदरका लागि अन्य खर्च पनि जोडेर गणना हुन्छ, यसरी निकालिएको आधार दरमा प्रिमियम जोडेर ऋणीलाई ब्याजदर तोकिन्छ ।”

बैंकहरुले कर्जामा आधार दर प्लस प्रिमियम गरेर लिन्छ । आधार दर गणना गर्दा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा थोरै हुने गरी कर्जाको ब्याजदर कामय गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यसका साथै निक्षेपमा दिएको र कर्जामा लिएको ब्याजदर अन्तर ४ प्रतिशत भन्दा धेरैले फरक पर्न हुदैन । त्यससंगै केन्द्रीय बैंकले निक्षेपको न्यूनतम र अधिकतम सीमा पनि ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । आधार दरमा हुने घटबढ कोषको लागतमा हुने परिवर्तनले मूख्य भुमिका खोल्ने भएकाले पनि कर्जा ब्याजदर घट्न निक्षेपको भन्दा धेरै समय लाग्ने गरेको बैंकहरुको भनाई छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको कोषको लागत सबैभन्दा थोरै छ । सो अवधिमा बैंकको कोषका लागत ४.४२ प्रतिशत मात्र रहेको छ । त्यसले गर्दा पनि अन्य बैंकको तुलनामा स्ट्याण्डडृ चार्टर्ड बैंकका ऋणीका लागि कर्जाको ब्याजदर सस्तो पर्न आउँछ । कोषको लागत काम हुने दोस्रो नम्बरका बैंकहरमा सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक रहेका छन । तर, चालु आवको पुसम्ममा प्राइम कमर्सियल बैंकको कोषको लागत सबैभन्दा धेरै छ । सो अवधिमा बैंकको कोषको लागत ७.७५ प्रतिशत रहेको छ । अन्य बैंकको तुलनामा प्राइम बैंकबाट कर्जा लिदाँ ब्याजदर महंगो पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ वैशाख २०८१, मंगलबार  १६ : २३ बजे