किन हटाउँदैछन् युरोपियन देशहरुले लोकप्रिय मानिएको ‘गोल्डेन भिसा’ ?

0
Shares

कुनै पनि देशमा तोकेअनुसारको लगानी गरेर त्यस देशको नागरिक हुन पाइने वा त्यही देशमा बसोबास गर्न पाइने सजिलो प्रक्रिया हो–गोल्डेन भिसा । यो भिसा जारी गरेर कुनै पनि देशले अर्को देशका धनाढ्य मानिसहरुबाट प्रत्यक्ष लगानी र लगानीकर्ता भित्र्याउन सक्छ । यस्तै गोल्डेन भिसा मार्फत धनाढ्य मानिसहरुले विकसित देशमा बसोबास गर्ने सहज अवसर समेत प्राप्त गर्छन् ।

इन्साइक्लोपिडियाका अनुसार, ‘गोल्डेन भिसा एक किसिमको आर्थिक लगानीमा आधारित बसोबासको अनुमतिपत्र हो जसले व्यक्ति र उसका परिवारलाई विदेशी मुलुकमा आर्थिक लगानी गरेर बसोबास गर्न वा नागरिकता प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।’ कुनै पनि देशको रियल स्टेट क्षेत्र, सरकारी ऋणपत्र, कोषमा लगानी गरी इच्छुक व्यक्तिले गोल्डेन भिसा मार्फत इच्छाएको देशमा बसोबास गर्न पाउँछन् ।

लगानी गरी नागरिकता तथा आवासीय सेवा प्राप्त गर्ने कार्यक्रममा पछिल्लो २० वर्ष देखि काम गर्दै आएको हाबर्ड ल कर्पोरेशनका अनुसार, गोल्डेन भिसा युरोपमा आवासीय सेवा वा युरोपियन देशको नागरिकता प्राप्त गर्न खोज्ने धनी व्यक्तिहरू माझ लोकप्रिय छ । आफ्नो मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, युद्ध, प्राकृतिक विपत्तिबाट बच्ने र राम्रो शिक्षा, स्वास्थ्य तथा व्यवसायिक अवसर प्राप्त गर्ने उपर्युक्त साधन गोल्डेन भिसा हो ।

कुनै समयमा युरोपियन देशका लागि वैदेशिक लगानी भित्र्याउने सहज माध्यम बनेको ‘गोल्डेन भिसा’ वर्तमान समयमा भने धेरै युरोपेली देशहरुले यो भिसा सम्बन्धी व्यवस्था खारेज तथा संशोधन गरिरहेका छन् । यस लेखमा युरोपियन देशहरुमा कुनै समयमा लोकप्रिय बन्दै गएको गोल्डेन भिसा, यसको उदय र वर्तमान अवस्थाको बारेमा चर्चा गरिनेछ ।

संकटको सामना गर्न जारी गरिएको ‘गोल्डेन भिसा’

सन् २००७ मा अमेरिकाबाट सुरु भएको आर्थिक संकटले विश्वलाई नै मुछ्यो । जसकारण विश्वव्यापी रुपमा आर्थिक संकटका साथै हाउसिङ संकट समेत उत्पन्न भयो । सोही समस्यासँग जुध्नका लागि युरोपियन युनियन अन्तर्गतको पोर्चुगलले सोही वर्ष पहिलो पटक विदेशी लगानी भित्र्याउने उद्देश्यले गोल्डेन भिसा जारी गरेको थियो । धरासायी बनेको रियल स्टेट क्षेत्रमा लगानी बढाउन पोर्चुगलले उक्त कदम चालेको थियो ।

तर विदेशी लगानीकर्ताको सङ्ख्या बढ्दै जाँदा जग्गा तथा घरहरुको मूल्य आकाशिँदै गयो । जसकारण पोर्चुगीज नागरिकहरुले जग्गा तथा घर खरिद गर्दा चर्को मूल्यवृद्धि सहन गर्नुपर्यो । जसको समाधान स्वरुप सन् २०२३ को अक्टोबर महिनामा पोर्चुगलले गोल्डेन भिसा स्कीम संशोधन गरेको थियो । जसअन्तर्गत अहिले पोर्चुगलमा स्थायी रुपमा बसोबास गर्न र नागरिकता प्राप्त गर्न विदेशी नागरिकले रियल स्टेट क्षेत्रमा लगानी गर्न पाउँदैनन् तर आफ्नो बसोबासका लागि सम्पत्ति खरिद वा सरकारी कोषमा लगानी गर्न सक्छन् ।

सन् २००७ पछि युरोपियन युनियन अन्तर्गतका विभिन्न देशहरुले गोल्डन भिसा जारी गरेका थिए । सन् २००८ मा बेलायतले सन् १९९४ मा पहिलो पटक जारी भएको ‘रेजीडेन्सी थ्रु इन्भेष्टमेन्ट’ स्कीमलाई रिब्रान्डीङ गरी विदेशी लगानीकर्ताका लागि गोल्डेन भिसाको व्यवस्था गरेको थियो ।

कालो धनलाई वैधानिकता दिने माध्यम बन्दै ‘गोल्डेन भिसा’

सन् २०२२ को सुरुवातमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेन र रुसबीच तनाव बढ्दै गएको छ । युक्रेनमाथि आक्रमण गरेको आरोपमा रुसमाथि पश्चिमा देशहरुले विभिन्न आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाएका छन् । रुसमाथि लगाइएका प्रतिबन्धबाट टाढा रहन धनाढ्य रुसी नागरिकहरुले गोल्डेन भिसाको प्रयोग गरेको पाइएको छ । यसरी रुसबाट अरु देशमा बसाइसराइ गरेका मानिसहरुले रुसबाट अवैधानिक धन अर्को देशमा लगानी गरी वैधानिक बनाउने घटना बढ्दै गएपछि युरोपियन कमिसनले यस क्षेत्र अन्तर्गतका राष्ट्रहरुलाई गोल्डेन भिसामा कडाइ गर्न आदेश दिएको थियो ।

रुस–युक्रेन युद्ध सुरु भएको केही समयपछि बेलायतले गोल्डेन भिसा जारी गर्न बन्द गरेको थियो । रुस–युक्रेनबीच जारी युद्धलाई मध्यनजर गर्दै आयरल्यान्डले सन् २०२२ को मार्च महिनामा नै रुसी नागरिकहरुका लागि गोल्डेन भिसा जारी गर्न बन्द गरेको थियो भने सन् २०२३ को फेब्रुअरी महिनादेखि आयरल्यान्डले सम्पूर्ण देशका नागरिकहरुलाई भिसा जारी गर्न बन्द गरेको हो । सन् २०११ मा स्पेनले, सन् २०१३ मा आयरल्यान्ड र ग्रीसले गोल्डेन भिसा जारी गरेका थिए । यसरी सन् २०१० को दशकमा युरोपका विभिन्न देशहरुले लगानीकर्ताका लागि भिसा दिन सुरु गरेका थिए ।

कर छली र भ्रष्टाचारको घटना बढाउँदै

युरोपियन कमीसनले आफ्नो सदस्य राष्ट्रलाई एक प्रतिवेदन मार्फत गोल्डेन भिसाले स्थानीय बासिन्दाहरुका लागि सुरक्षा चुनौती सिर्जना गरेको र भ्रष्टाचार, करछली, सम्पत्ति शुद्धीकरण जस्ता अपराध बढाएको जानकारी दिँदै गोल्डेन भिसामा कडाइ गर्न आग्रह गरेको थियो । गोल्डेन भिसा प्राप्त गरी युरोप छिर्ने मानिसहरुको वास्तविक सङ्ख्या यकीन गर्न नसक्दा जोखिम थप बढेको कमीसनको दाबी छ ।

गोल्डेन भिसा प्राप्त गर्ने मानिसहरुलाई भिसा दिने देशले विभिन्न सुविधाहरु दिएको हुन्छ जसअन्तर्गत गुणस्तरीय शिक्षा, स्वास्थ्य र कर सहुलियत पनि पर्छ । युरोपियन देशको गोल्डेन भिसा लिएको मानिसले युरोपियन युनियन अन्तर्गतका सम्पूर्ण देशहरुमा आवतजावत गर्न सक्छ भने तीन पुस्ता बसोबास गर्न सक्छन् ।
अपराधिक क्रियाकलाप बढ्दै जाँदा युरोपियन युनियन अन्तर्गतका विभिन्न देशहरुले गोल्डेन भिसा स्कीममा कडाइ गरिरहेका छन् भने केही देशहरुले स्कीम खारेज समेत गरेका छन् । अप्रिल ८ मा स्पेनले समेत गोल्डेन भिसाको व्यवस्था खारेज गरेको छ । स्पेनको सरकारी तथ्यांक अनुसार सन् २०१३ देखि हालसम्म १० हजार गोल्डेन भिसा जारी भएको छ ।

अष्ट्रेलिया, अष्ट्रिया, क्यान्डा, लक्जमबर्ग, मलेसिया, मोनाको, नामिबिया, न्युजिल्यान्ड, पानामा, सिंगापुर, थाइल्यान्ड, हङकङ लगायतका देशहरुले समेत गोल्डेन भिसा जारी गर्छन् । सन् २०१९ देखि संयुक्त अरब इमिरेट्स (युएइ)ले समेत गोल्डेन भिसाको व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।