प्रतिस्पर्धा बढ्दै जाँदा टेस्लाको नाफा घट्दै, पहिलो त्रैमासमै ५० प्रतिशतको गिरावट

0
Shares

विद्युतीय कार निर्माता कम्पनी–टेस्लाको नाफामा गिरावट आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीको नाफा ५० प्रतिशतले घटेको हो ।

बजारमा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय कार उपलब्ध हुन थालेपछि पछिल्लो समयमा टेस्लाको सेल्स समेत घट्दै गएको छ । सेल्समा आएको गिरावटका कारण कम्पनीको नाफामा समेत भारी गिरावट आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा साढे दुई अर्ब अमेरिकी डलर नाफा कमाएको टेस्लाको नाफा सन् २०२४ को सोही अवधिमा भने १ अर्ब १३ करोड डलरमा खुम्चिएको छ ।

चिनियाँ अटोमेकर कम्पनी–बीवाइडीले आक्रामक शैलीमा अन्तराष्ट्रिय बजार विस्तार गरेसँगै टेस्ला कारको मागमा कमी आउँदै गएको छ । जसकारण सेल्स घट्दा नाफामा व्यापक कमी आएको छ । यसै समयमा टेस्लाले १ लाख ४० हजार ४७३ कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

सन् २०२४ को सुरुवात देखि नै कम्पनीको सेयरमूल्यमा समेत भारी गिरावट आएको छ । जनवरी देखि अप्रिल २४ सम्ममा कम्पनीको सेयरमूल्य ३४.७४ प्रतिशतले घटेको छ । सेयरमूल्य र नाफा घट्दै जाँदा दुखी बनेका लगानीकर्तालाई सान्त्वना दिँदै प्रमुख कार्यकारी निर्देशक एलन मस्कले आगामी समयमा टेस्लाका नयाँ मोडलले बजार लिने र ग्राहकहरुलाई आकर्षण गर्ने बताए । सन् २०२५ को दोस्रो त्रैमासदेखि टेस्लाका नयाँ मोडल बजारमा आउने जानकारी समेत मस्कले दिएका छन् ।

तथापि कम मूल्यका गुणस्तरीय कारहरुको सङ्ख्या बढ्दै जाँदा टेस्लाको प्रतिस्पर्धा बढ्ने विश्लेषकहरुको भनाइ छ ।

हाल चिनियाँ विद्युतीय कारहरुको आक्रामक बजार बिस्तारदेखि पश्चिमा मुलुकहरु समेत डराएका छन् । व्यापारिक सम्बन्ध राम्रो भएका देशहरुमा बिवाइडीले बजार लिने वक्तव्य स्वयम् मस्कले समेत दिएका छन् ।

चीनले आफ्ना घरेलु कम्पनीहरुका लागि करमा विशेष छुट दिएकाले पश्चिमा देशका कम्पनीहरुको तुलनामा चिनियाँ कम्पनीले उत्पादन गर्ने वस्तु तथा साधनको मूल्य कम हुन जाने र कम मूल्यमा गुणस्तरीय वस्तु पाउँदा ग्राहकहरुले चिनियाँ उत्पादनलाई प्राथमिकता दिने गरेका छन् । वर्तमान समयमा यो विषयले पश्चिमा देशहरुमा चर्चा कमाइरहेको छ ।

वल्र्ड इकोनोमिक फोरममा समेत यो विषयले निकै महत्व पाएको थियो । आफ्नो देशमा चिनियाँ कम्पनीको प्रभुत्व जम्न नदिन अमेरिका, बेलायत लगायतका देशहरुले चिनियाँ सामाग्रीमा लगाइने करको दायरा समेत बढाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।