पर्याप्त तरलता र घट्दो ब्याजदर आन्तरिक उत्पादन बढाउने अवसर हो : वरिष्ठ डेपुटि गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुङगानाले वित्तीय प्रणालीको अधिक तरलता र घट्दो ब्याजदरलाई आन्तरिक उत्पादन बढाउन प्रयोग गर्नुपर्ने बताएकी छन् । उनले वित्तीय स्रोत उपलब्धता र घट्दो लागत आन्तरिक उत्पादन वृद्धिका लागि परिचालन गर्ने अवसर रुपमा देखा परेको बताइन ।

राष्ट्र बैंकको ६९ औ वर्षिक उत्सबलाई सम्बोधन गर्दै ढुङगानाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर समेत एकल अंकमा झर्ने क्रममा रहेको बताइन। वित्तीय प्रणालीको प्रयाप्त तरलतालाई उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धिमा परिचालन गर्नुपर्ने सुझाव छ । दीगो आर्थिक विकास र आर्थिक स्थायित्वमा केन्द्रीत हुनु आजको आवश्यकता रहेको उनको भनाई छ । यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक, वित्तीय र विदेशी विनिमय नीति मार्फत सक्रिय भूमिका निर्वाह गरिरहेको पनि उनको भनाई छ ।

विश्व आर्थिक शिथिलताको असर नेपाली अर्थतन्त्रमा पनि परेको बताउँदै उनले भनिन्,“आन्तरिक मागमा कमी आएका कारण आर्थिक गतिविधि केही शिथिल भएको, कर्जा वृद्धि अपेक्षित नभएको, निष्किय कर्जा केही बढेको, राजस्व परिचालन र पूँजीगत खर्च अपेक्षित रुपमा हुन सकेको छैन ।”
तर, विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार आउँदा बाह्य क्षेत्र सबल भएको उनले बताइन । विदेशी विनिमय सञ्चिति ऐतिहासिक उचाइमा पुगेको बताउँदै उनले बाह्य क्षेत्र मजबूत रहेको, मुद्रास्फीति लक्षित सीमाभित्र रहेको जानकारी दिइन ।

मुलुक तेस्रो लगानी सम्मेलनको तयारी गरीरहेको अवस्थामा स्वदेशी एवं विदेशी लगानीकलाहरुलाई आकर्षित गर्नको लागि राष्ट्र बैंकले पनि नीतिगत सुधार गरेको जानकारी उनले दिइन । केन्द्रीय बैंकले लगानी सम्मेलनलाई लक्षित गर्दै विदेशी ऋण तथा लगानी व्यवस्थापन विनियमावली संशोधन गरेको बताइन । संशोधीत विनियमावलीलले लगानी भित्रयाउन, लेखांकन गर्न र रिप्याट्रिसनमा धेरै सहजता हुने उनको भनाइ छ ।

चालु पुँजी कर्जा मार्गदर्शन ल्याएपछि वित्तीय स्रोतको सदुपयोगिता वृद्धि भएको उनको भनाई छ । वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जाको गुणस्तर वृद्धिका लागि ल्याएको मार्गदर्शनले वित्तीय स्थायित्वमा समेत सकारात्मक योगदान पुर्याएको उनको तर्क छ ।

तर, पछिल्लो समयमा बैंक वित्तीय संस्था र समग्र वित्तीय सेवाप्रति भएको आक्रमण वित्तीय स्थायित्व र समग्र आर्थिक स्थायित्वमा समेत चुनौती बढ्न सक्ने उनको बुझाइ छ । “यस्ता अराजक गतिविधिलाई कानूनी दायरामा ल्याउन ढिलाई गर्न नहुने अवस्था आएको छ,” उनले भनिन्,“ऋण लिएपछि तिर्नुपर्छ भन्ने मान्यतामा नेपाल राष्ट्र बैंक अडिग छ ।”

केन्द्रीय बैंकले स्थापना काल देखि नै मूल्य, वित्तीय क्षेत्र र वाह्य क्षेत्र स्थायित्व मार्फत समग्र आर्थिक स्थायित्व कायम गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको उनको भनाइ छ । विभिन्न आर्थिक तथा भूराजनीतिक तनावहरुका कारण विश्व आपूर्ति श्रृंखलामा अवरोध आउँदा समेत धेरै हदसम्म मुलुकको समग्र आर्थिक स्थायित्व कायम राख्न सक्नुबाट पनि बैंक आफ्नो जिम्मेबारीमा सफल भएको उनको बुझाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।