तरकारीमा परनिर्भरता : आलु प्याज र टमाटर आयातमा मात्रै झण्डै ८ अर्ब बाहिरियो


स्वदेशमा माग अनुसारको खेती नहुँदा कृषि प्रधान देश नेपालमा अर्बौ रुपैयाँको तरकारी विदेशबाट नै आयात हुने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा आलु प्याज र टमाटर आयातमा मात्रै ७ अर्ब ९१ करोड १९ लाख ३१ हजार रुपैयाँ बाहिरिएको छ ।

नेपालमा उत्पादित तरकारीले माग धान्न नसक्दा नेपालले वर्षैनी तरकारी आयातमा ठूलो रकम बुझाउनु परेको कृषि विज्ञहरु बताउँछन् ।

मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान रहेता पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै जमिन बाँझो नै हुँदा तरकारी तथा फलफूलमा परनिर्भरता कायमै रहेको कृषि अर्थ विज्ञ कृष्ण पौडेल बताउँछन् । कृषियोग्य भूभागको थोरै भूभाग मात्र सही र ब्यवस्थित उपयोग गर्नसके पनि तरकारी खेतीमा आत्मनिर्भर हुन सकिने उनको जिकिर छ ।

सरकारले तरकारी खेतीको विकास र प्रवर्धनमा जोड दिनुपर्ने उनी बताउँछन् । तरकारीमा बाहिरिने रकम मात्र नियन्त्रण गर्न सके नेपालको आर्थिक विकासमा टेवा पुर्याउन सकिने विज्ञ पौडेलको भनाइ छ ।नेपालमा नै उत्पादन हुने तरकारीहरु बाह्य देशबाट अर्बौको आयात हुनु दुखद रहेको बताउँदै उनले सरकाले नेपालमा कृषिमा सहुलियत दिए फलफूल क्षेत्रको विकास हुने बताए । सिजजमा उत्पादन हुने कयौँ तरकारीको उचित व्यवस्था मात्रै गर्न सकियो भने पनि तरकारीको अयात केही हदसम्म रोक्न सकिने उनको तर्क छ ।

चालु आर्थिक वर्षमा भान्सामा दैनिक प्रयोग गरिने पाँच तरकारीमा १२ अर्ब १७ करोड २१ लाख २४ हजार रुपैयाँ बाहिरिएको छ । यो साउनदेखि चैतसम्म (नौ महिना)को तथ्यांक हो । चालु आव (२०८०\८१) को नौ महिना अवधिमा ३३ करोड १२ लाख ५० हजार ६१४ किलो प्याज, टमाटर, अदुवा लसुन र आलु आयातमा उक्त रकम बाहिरिएको हो ।

यी पाँच तरकारी मध्ये सबैभन्दा धेरै आलु आयातमा ५ अर्ब ३१ करोड ९९ लाख २२ हजार रुपैयाँ बराबरको २१ करोड ६ लाख ३ हजार ९३८ केजी आलु आयात भएको छ । यस्तै, ३ अर्ब ८४ करोड ४७ लाख ८१ हजार रुपैयाँ बराबरको ६ करोड ९ लाख ९२ हजार ३९५ किलो अदुवा आयात भएको छ भने २ करोड ७१ लाख १३ हजार रुपैयाँ बराबरको ४ करोड ७१ लाख ३२ हजार ५८ केजी प्याज आयात भएको छ ।
यसैगरी, एक अर्ब ८३ करोड ७६ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ६० हजार ३३७ केजी लसुन आयात भएको छ भने ५८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९६ हजार ८७२ केजी टमाटर आयात भएको छ ।

यस्तै नेपालबाट भने चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ५७ लाख ३३ हजार रुपैयाँ बराबरको ९ हजार १०० केजी सुकेको प्याज निर्यात भएकोे छ । यस्तै नेपालबाट ९३ करोड ६६ लाख रुपैयाँ बराबरको ६ लाख ७५ हजार ९२० किलो टमाटर निर्यात भएको छ । यस्तै ६३ हजार रुपैयाँ बराबरको ७८ किलो आलु निर्यात गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।