ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १ अर्ब ३३ करोड लगानी


स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडमा १ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । दुई संस्थाका बिचमा १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् ।

उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको बताइएको छ ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यो लगानी सम्झौताबाट नेपालको कृषी, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल स्थित स्विट्जरल्याण्डको दुतावासले यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठुलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंकले ७७ जिल्लाका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।