कर्जाको आकार र डिफल्ट दरका आधारमा बैंकको अडिट हुने, छनोट भएका अडिटरले मोडल बनाउने


नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्म मार्फत कर्जामा केन्द्रीत भई वाणिज्य बैंकहरुको लेखापरिक्षण गराउने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले कर्जाको आकार र डिफल्ट रेटका आधारमा लेखापरिक्षण गर्ने प्रक्रियाका लागि अन्तर्राष्ट्रिय अडिटर छनोट सुरु गरेको हो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलकबोल मार्फत आह्वान गरेको अडिट फर्म छनोटका लागि मंगलबबार सर्टलिस्ट गरेको छ । बैंकले आवेदकहरु मध्येबाट तोकिएको मापदण्ड पुरा गरेका ५ अन्तर्राष्ट्रिय अडिट फर्मलाई सर्टलिस्ट गरेको छ । सर्टलिस्टमा परेका अडिटफर्ममा जर्मर्नी, नेदरल्याण्डका फर्महरु तथा तीसँग सम्बधन लिएका भारतीय तथा पाकिस्तानी फर्म रहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारी कर्जा सुविधाका दिनका लागि सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्तिको गुणस्तरको लेखापरिक्षण गर्नु पर्ने शर्त राखेको थियो । सो शर्त अनुसार केन्द्रीय बैंकले कर्जामा केन्द्रीत भएर पूर्ण लेखापरीक्षण गर्न तयार भएको थियो । सोही अनुसार केन्द्रीय बैंकले कर्जाको आकार र डिफल्ट रेटलाई आधार बनाई पूर्ण लेखापरीक्षण गराउने प्रक्रिया अघि बढाएको केन्द्रीय बैंकका एक अधिकारीले नोटबजारलाई बताए ।

“बैंकहरुको छनोट गर्ने मोडल अन्तर्राष्ट्रिय अडिट फर्मले नै बनाउने भए पनि खाका भने केन्द्रीय बैंकले नै दिन्छ,” ती अधिकारीले भने, “सम्पत्तिको गुणस्तर कमजोर छ भन्ने आशंका भएकाले कर्जाको आकार र डिफल्ट रेटलाई मूख्य अधारको रुपमा लिइनेछ ।” यो लेखापरिक्षणमा कर्जाको मात्र नभई छनोटमा परेका १० वाणिज्य बैंकको पूर्ण लेखापरीक्षण हुने ती अधिकारीको भनाई छ ।

सञ्चालनमा रहेका बैंकहरु सबैले एउटै अभ्यास नगरेको भन्दै ती अधिकारीले भने, “अन्तराष्ट्रिय स्तरको बैंकिङ कारोबार गर्ने संस्थाको सन्दर्भमा भन्दा पनि सम्पत्तिको गुणस्तर कमजोर भएका र प्रुडेन्ट बैंकिङ अभ्यसालाई अनुसरण नगरेका बैंकलाई प्राथमिकतामा राखिनेछ ।” अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाली बैंकिङ क्षेत्रको खराब कर्जाको अंशलाई विश्वास गरिरहेको थिएन । बैंकिङ क्षेत्रले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको थियो । त्यसका लागि समेत कोषले केन्द्रीय बैंकलाई चालु पुँजी कर्जा मागर्दर्शन लागू गर्न दवाब दियो । केन्द्रीय बैंकले पनि गत वर्षदेखि कर्जाका लागि कर्जा लिने अभ्यास बन्द गर्न भन्दै चालु पुँजी कर्जा मार्गदर्शन लागू गर्यो ।

केन्द्रीय बैंकले चालु पुँजी कर्जा लागु गर्ने, अर्थतन्त्र मन्दीमा जाने र कोरोना महामारीको असर एकैपटक देखिएपछि बैंकहरुको खराब कर्जा निरन्तर बढ्दो क्रममा छ । केन्द्रीय बैंकले पनि बैंकिङ प्रणालीको कर्जा जोखिम बढेको भन्दै प्रोभिजनिङ बढाउने लगायतका नीतिगत काम गर्दै आएको छ । त्यसका साथै आगामी वर्षदेखि पुँजीकोषमा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर समेत थप गर्ने निर्णय गरिसकेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरुको औसत खराब कर्जा ३.६५ प्रतिशत पुगेको छ ।

विस्तारित कर्जा सुविधा लिनका लागि आइएमएफले तोकेका मादण्ड पुरा गर्न केन्द्रीय बैंकले अघि बढाएको लेखारीक्षणमा विश्वको सबैभन्दा ठुलो डेलोइट फाइनान्सीयल एडभाइजरी नेदरल्याण्ड पनि सर्टलिस्टेड भएको छ । यो फर्मको २०२३ को वार्षिक आम्दानी करिब ६५ विलियन डलर छ । यसले ४ लाख ५७ हजार जनालाई रोजगारी प्रदान गरेको छ ।

त्यसैगरी जेभी सीएसी एण्ड को भारतको नेपाली साझेदर सीएससी एण्ड को चार्टर्ड एकाउन्टेन्ट, गैरीधारा काठमाण्डौ, जेभी एसआरबी एण्ड बीके अग्रबाल चार्टर्ड एकाउन्टेन्ट इण्डियाको नेपाली साझेदार बीके अग्रवाल एण्ड को चार्टर्ड एकाउन्टेन्ट, सिफल काठमाण्डै, केपीएमजी अस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिस भारत र केपीएमजी तासीर हाडी एण्ड को पाकिस्तान सर्टलिस्टेड भएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले तोकेको मापदण्ड पुरा गरेर आवेदन दिएका मध्ये सर्टलिस्टेड फर्महरुले थप प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । सर्टलिस्टेड फर्महरुले वित्तीय तथा प्राविधिक छनोट प्रक्रिया पुरा गर्न बाँकी रहेको केन्द्रीय बैंकका अधिकारीले जानकारी दिए ।

“मंगलबार टेण्डर आह्वान भएपछि आएका आवेदनबाट योग्य फर्महरुको प्रारम्भिक सूची तयार पारिएको हो,” उनले भने, “बाँकी प्रक्रिया पुरा भएपछि उपयुक्त एकको छनोट गरेर लेखापरीक्षणको प्रक्रिया सुरु हुन्छ ।” यसरी छनोट भएको अन्तराष्ट्रिय फर्मले आफ्नै मोडालीटी विकास गरेर बैंकहरुको सम्पत्तिको गुणस्तर तथा समग्र संस्थागत अवस्थाको बास्तविकता बाहिर आउने ती अधिकारीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।