‘श्रमिकको विदेश पलायन रोक्न ठोस योजना र कार्यक्रम आवश्यक’


श्रम विदेश पलायन हुनेक्रम रोक्नका लागि ठोस योजना र कार्यक्रम ल्याउन सरकारलाई राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी) द्वारा आयोजित कार्यक्रममा उपस्थित नेताहरुले श्रम निर्यातभन्दा पनि स्वदेशभित्रै श्रम सिर्जना गर्न जोड दिएका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनबहादुर गुरुङले देशभित्र स्वरोजगार र रोजगारको प्रवद्र्धनका लागि सरकारले झन्झटिलो प्रक्रियालाई सकेसम्म सरलीकृत गर्नुपर्ने सुझाव दिए ।

“श्रमिकको निर्यात हैन श्रम सिर्जना गरौँ । श्रमको सिर्जना गर्नका लागि लगानीको वातावरणको आवश्यकता छ । यसको सहजीकरणका लागि सरकारले कदम चाल्न आवश्यक छ”, उनले भने, “हाम्रा प्रक्रिया अत्यन्त झन्झटिला छन् यसलाई दु्रतमार्गमा लानुपर्छ । स्वरोजगार र रोजगार प्रवद्र्धन गर्नका लागि पनि यो कुरा आत्मसात गर्न आवश्यक छ ।”

उपसभापति गुरुङले सुशासन कायम गर्नका लागिसमेत उच्च तहका नेता तथा कर्मचारीले श्रमको सम्मान गर्न जान्नुपर्ने बताए । “सिंहदरबार छिरेपछि मालिक हाँै कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक हैनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव मुख्यसचिव जे भए पनि हामी सबै देशका श्रमिक नै हाँै । जनताको श्रमिक, भरिया हौँ भन्ने हामी नेताले नबुझ्दा पनि श्रमिक र जनताले दुःख पाइरहेका छन्”, उनले भने ।

उक्त कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकभित्रै श्रम गरेर राष्ट्र निर्माणको यात्रामा जोडिने मनोविज्ञान कमजोर बन्दै गएको गुनासो गरे । “जो जो नेपालभित्रै श्रम गरेर राष्ट्र निर्माणमा जुट्नुभएको छ उहाँहरु वास्तवमा धन्यवादको पात्र हुनुहुन्छ । तर पछिल्लो समय ठूलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा जाने परिस्थिति सिर्जना हुनु मुलुकको समृद्धिका लागि चुनौती पनि हो”, उनले भने ।

महासचिव पोखरेलले मुलुक विकास र समृद्धिको यात्रालाई तीव्रता दिन नसके रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सहभागी गराउनेतर्फसमेत सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं सङ्घीय सांसद पशुपति शमशेर जवराले औद्योगिक विकासले मात्र पर्याप्त रोजगारी सिर्जना हुने धारणा राखे । उनले औद्योगिक क्षेत्रको विकासका लागि सरोकारवाला सबै प्रतिबद्ध हुनुपर्ने बताए ।

“मुलुकमा युवाले रोजगार प्राप्त नगरेसम्म उनीहरु देशभित्र बस्ने परिस्थिति सिर्जना हुँदैन । उनीहरु मुलुकमा नबसे साच्चिकै विकास हुन सक्दैन”, उनले भने, “आज हेरौँ भने उद्योगको अवस्था खुम्चेको छ । देशभित्र उत्पादनशील उद्योग विकास नभएसम्म पलायन भएको युवा जनशक्तिलाई रोजगार दिएर मातृभूमिमै सेवा गर्ने अवसर दिन सक्दैनौँ ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेश पलाएन भएकालाई देश फिर्ता गर्न सरकारले ठोस योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले भने “सामान्य रोजगारीको अवसर नभएर लाखौँ युवा विदेश पलायन हुनुपर्ने बाध्यता छ”, उनले भने, “हामीले यस दिवसको ऐतिहासिक महत्वको बयान गरेर मात्र पुग्दैन । धेरै राजनीतिक परिवर्तनमा बाबजुद पनि श्रमिकको अवस्थामा सुधार हुन नसक्नु दुःखद् हो । यही गतिमा श्रमिक शून्य राष्ट्र हुनसक्छ ।”

जेटियुसिसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम पलायन रोक्नका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीको थप अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । उनले श्रम बजारको माग र पूर्तिको बेमेललाई न्यूनीकरण गर्नतर्फसमेत सचेत गराए । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम बजार सम्बन्धित सबै निकायबीच आपसमा विश्वासमा लिएर सहकार्य गर्नुपर्ने बताए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।