राष्ट्र बैंकले १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने


नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दैै वैदेशिक रोजगारीमा रहेका र निजको परिवारका सदस्य तथा गैर आवासीय नेपालीहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकका अनुसार बचतपत्र आगामी बैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म खुला हुनेछ भने जेठ २९ गते निष्काशन हुनेछ । पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक ९ प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक (६\६ महिनामा) रुपमा हुने जनाइएको छ।

उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक, उनीहरुका परिवारका सदस्य तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको ६ महिना नपुगेको हुनुपर्ने बैंकले जनाएको छ। उनीहरुले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

यदि परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भइ खरिद गर्ने भए नावालकको जन्मदर्ता प्रमाणपत्र सहित दखास्त दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि ८ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् । यसैगरी, यी बिक्री एजेन्टका नेपाल बाहिर रहेका सम्पर्क व्यक्ति मार्फत पनि बचतपत्र खरीद गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।