घरेलु तथा साना उद्योग सञ्चालन गर्ने परिवार साढे ९ प्रतिशत, १७ लाख परिवारको वित्तीय संस्थामा ऋण


सरकारको स्वरोजगारलाई प्रवद्र्धन गरेसँगै ९.४३ प्रतिशत घरपरिवारले साना तथा घरेलु व्यवसाय सञ्चालन गरेका छन् । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार ६ लाख २९ हजार घरपरिवारले साना तथा घरेलु व्यवसाय सञ्चालन गरेका हुन ।

पछिल्लो समय आन्तरिक उत्पादन बढाउने तथा स्वरोजगारमुलक जनचेतना विस्तार भएसँगै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्ने परिवारको संख्या बढ्दै गएको पनि कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालमा कुल परिवारको संख्या ६६ लाख ६६ हजार ९ सय ३७ रहेको छ । यसमध्ये आम्दानीको स्रोतको रुपमा साना तथा घरेलु व्यवसाय गर्नेको संख्या ९.४३ प्रतिशत अर्थात ६ लाख २९ हजार रहेको छ ।

कार्यालयका अनुसार आर्थिक रुपमा सक्रिय जनसंख्या २ करोड ३९ लाख रहेको छ । त्यसमा अक्सर आर्थिक रुपमा सक्रिय जनसंख्या एक करोड ५६ लाख ८९ हजार रहेको तथ्याङक कार्यालयले जनाएको छ । अक्सर आर्थिक रुपले सक्रिय जनसंख्या मध्ये रोजगार गर्नेको संख्या भने एक करोड १० लाख ३८ हजार रहेको छ । तर, आर्थिक काम गरेको अवधि अनुसारको कुल जनसंख्या भने २ करोड ३९ लाख ५८ हजार रहेको छ । यसमा ६ महिनाभन्दा धेरै अवधि काम गर्ने ४०.९९ प्रतिशत रहेको कार्यलयले जनाएको छ ।

कार्यालयका अनुसार सरकारी क्षेत्रमा आर्थिक काम गर्नेको जनसंख्या ३.९१ प्रतिशत रहेको छ भने १.०९ प्रतिशतले वित्तीय संस्थामा काम गर्छन् । त्यसैगरी ३२.६८ प्रतिशत जनसंख्या गैरवित्तीय संस्थामा काम गर्छन् भने नाफा नकमाउने संस्थाहरुमा ०.४३ प्रतिशत जनसंख्याले काम गर्ने गरेको कार्यालयले जनाएको छ । तर, घरायसी क्षेत्रमा काम गरेर आम्दानी गर्ने जनसंख्या भने ६१.८१ प्रतिशत रहेको छ ।

औद्योगिक क्षेत्रको वर्गिकरण अनुसार सबैभन्दा धेरै अर्थात ५७.३१ प्रतिशत जनसंख्या कृषि, बन र माछापालनमा आवद्ध छन् । त्यसैगरी खानी तथा उत्खनन्मा ०.१८ र औद्योगिक उत्पादनमा ३.८१ प्रतिशत जनसंख्या आवद्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुरुषको भन्दा महिलाको औसत आयु साढे ६ वर्षले धेरै रहेको छ । पुरुषको औसत आयु ६८.२ वर्ष रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । नेपालीको औसत आयु ७१.३० वर्ष कायम भएको कार्यलयले जनाएको छ । औसत आयु सबैभन्दा धेरै हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । कर्णाली प्रदेशको औसत आयु ७२.५ वर्ष रहेको छ । त्यसैगरी कार्यालयका अनुसार ८६ प्रतिशत नेपालीको आफ्नै घर छ भने १२.७७ प्रतिशत नेपाली भाडामा बस्ने गरेका छन् ।

कार्यालयको तथ्याङक अनुसार बैंक तथा वित्तीय संस्थामा एउटा खाता भएको परिवार ६१.८९ प्रतिशत छ । बैंक खाता भएको जनसंख्याको प्रतिशत भने २५.५६ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने परिवारको प्रतिशत २५.५९ रहेको कार्यालयले जनाएको छ । बैंक वित्तीय संस्थाको पहुच विस्तार भएपनि निक्षेपका लागि मात्र भएको देखिन्छ । ग्रामीण भेगमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिने प्रचलनले पनि कमी भएको कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।