केन्द्रीय बैंकले एक खर्ब बढी तरलता खिचेपछि ब्याजदर बढ्यो, एसडीएफ लगत्तै निक्षेप संकलन

0
Shares

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदर बढाउनका लागि स्थायी निक्षेप सुविधा (एसडीएफ) लगत्तै निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । केन्द्रीय बैंकले एसडीएफ मार्फत खिचेको तरलताले मात्र ब्याजदरमा असर नगरेपछि निक्षेप संकलन उपकरण पनि प्रयोग गरेको हो ।

एसडीएफको नियमीत तालिका अनुसार बैंक तथा वित्तीय संस्थाले बुधबार ७८ अर्ब ३५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका थिए । त्यसले पनि अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले बिहीबार नै ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गर्यो । उक्त उपकरण मार्फत केन्द्रीय बैंकले प्रणालीको ३२ अर्ब ७० करोड तरलता खिचेको छ । वित्तीय प्रणालीको तलरताले अल्पकालिन ब्यादरलाई निर्धारण गर्ने भएकाले ब्याजदर बढाउन केन्द्रीय बैंकले बहु औजार मार्फत तरलता खिचेको हो ।

बिहीबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ब्याजदर बढाएर निक्षेप संकलन गरेको छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाबाट लिएको निक्षेप ७ दिन अवधिको हो । उक्त निक्षेप संकलन केन्द्रीय बैंकलाई दिएबापत बैंक वित्तीय संस्थाले अधिकतम ब्याजदर ३.१२ र न्यूनतम २.७८ प्रतिशत रहेको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.९७२५ प्रतिशत कायम भएको छ । यो ब्याजदर यसभन्दा अघि बैंशाख १३ गतेको औसत भन्दा धेरै हो । बैंशाख १३ गतेको निक्षेप संकलनको औसत ब्याजदर २.९५३६ प्रतिशत कायम भएको थियो ।

बिहीबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले माग गरेजती ब्याजदर दिएको छ । बैंकहरुले माग गरे अनुसारको ब्याजदर दिदा पनि केन्द्रीय बैंकले लिन चाहे जती निक्षेप पाएन । बैंकहरुले नै ब्याजदर बढाएर ३५ अर्ब माग गरेकोमा ३२ अर्ब ७० करोड मात्रै निक्षेप दिन तयार भएपछि केन्द्रीय बैंकले पनि त्यसलाई स्वीकार गरेको हो ।

बुधबार ७८ अर्ब स्थायी निक्षेप राखेपछि वित्तीय प्रणालीको तरलता ४६ अर्ब २५ करोड रुपैयाँ बरावरको थियो । तर, बिहीबार २४ अर्ब ८५ करोड रुपैयाँ बराबरको स्थायी निक्षेप र १८ अर्ब ४५ करोड रुपैयाँ बरावरको निक्षेप संकलन परिपक्क भएपछि वित्तीय प्रणालीमा ४३ अर्ब ३० करोड रुपैयाँ तरलता थप भएको छ । यसरी बिहीबार वित्तीय प्रणालीमा ८९ अर्ब ५५ करोड तरलता (बिहीबारको थपिएको निक्षेप तथा गएको कर्जा बाहेक) कायम भएको छ । बिहीबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको एक खर्ब २१ अर्ब ६५ करोड बक्यौता छ ।

पछिल्लो समयमा आर्थिक गतिविधि विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थाले कर्जा लागनी विस्तार गर्न सकेका छैनन । केही बैंकहरुले पुँजीकोषको दबाबका कारण पनि कर्जा लगानी बढेको छैन । तर, रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्रणालीको निक्षेप बढ्ने क्रम कायम रहदा अधिक तरलताको अवस्था आयो । त्यसले गर्दा अल्पकालिन तरलता घट्न थाल्यो । तर, केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई कार्यान्वयन गर्नका दुइ दिन एक खर्ब ८ अर्ब भन्दा धेरै तरलता खिच्नु पर्यो । अधिक तरलता भएको खण्डमा अन्तर बैंक ब्याजदर घट्छ । अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्नुपर्ने व्यवस्था छ ।

अधिक तरलताका कारण अन्तर बैंक दर साढे २ प्रतिशतमा आएपनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरेर अन्तर बैंक दर बढाउन निक्षेप संकलन उपकरणको ब्याजदर बढाएको हो । निक्षेप संकलन उपकरण मार्फत समेत तरलता खिचेपछि अन्तर बैंक ब्याजदर करिडोरको तल्लोमा सीमामा कायम राख्ने पहल केन्द्रीय बैंकले गरेको हो ।

बैंक तथा व्त्तिीय संस्थाले स्थयी निक्षेप सुविधा मार्फत तरलता केन्द्रीय बैंकमा राख्दा ४ दिनका लागि ३ प्रतिशत ब्याजदरमा राख्नु पर्ने हुन्छ । तर, निक्षेप संकलन उपकरणका परिपक्क हुने अवधि केही लामो हुनुका साथै ब्याजदर पनि बोलकबोल मार्फत निर्धारण हुँदा स्गायी निक्षेपको भन्दा धेरै पनि हुन सक्छ । विहीबार कै निक्षेप संकलनमा लगानी गर्ने बैंकले एसडीएफबाट भन्दा धेरै ब्याज पाएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ वैशाख २०८१, बिहीबार  १९ : ०५ बजे